काठमाडौं – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी जनयुद्धको कार्यनीतिक एजेण्डा पूरा भएको तर रणनीतिक विषय अझै पूरा हुन बाँकी रहेको बताएका छन् ।
१० वर्षे जनयुद्धको एक नेतृत्वकर्ता डा भट्टराईले सामाजिक सञ्जालमा लामो विश्लेषण सेयर गर्दै माओवादी पार्टी कमजोर हुँदै जानुका आधार र कारणहरू पनि औँल्याएका छन् । मूल नेतृत्व (प्रचण्ड) मा रहेको ढुलमुले नीतिले आन्दोलन कमजोर बनेको उनको दाबी छ ।
‘पार्टीको नेतृत्व पंक्तिमा बेलैमा बुझाइमा एकरूपता कायम हुन सकेको भए अझै बढी उपलब्धि पनि हुन सक्दथ्यो, त्यो हुन नसक्दा कतिपय कुरा गुमेका छन्’, सामाजिक सञ्जालमा आफूसहित प्रचण्ड र बादलको फोटो सेयर गर्दै डा भट्टराईले लेखेका छन्, ‘राजनीतिक रूपले विजय हासिल गरे पनि फौजी रूपले पूर्ण विजय हासिल गर्न नसक्दा र आन्तरिक तथा बाह्य शक्ति सन्तुलन पनि हेर्नुपर्ने हुँदा शान्ति सम्झौतामार्फत प्राप्त सफलतालाई सापेक्ष रूपले सफल भन्नु सही र उपयुक्त हुन्छ ।’
शान्ति प्रक्रियापछि प्रचण्डको ढुलमुले र मौकापरस्त नीतिले माओवादी कमजोर बन्दै गएको उनको जिकिर छ । ०६४ साउनमा बालाजुमा सम्पन्न विस्तारित बैठक स्मरण गर्दै भनेका छन्, ‘प्रचण्डले प्रयोग गरेको र पार्टीभित्र जिब्रोमा गडेको (मुखमा संविधानसभाको निर्वाचन, मनमा सशस्त्र विद्रोह) दोधारे कुराले पार्टीमा तलसम्म गहीरो विभाजन ल्यायो, जनसमुदायमा समेत भ्रम छर्यो र पार्टीलाई पछिसम्म अपूरणीय क्षति पुर्यायो ।’
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ०६७ मंसिरमा गोरखाको पालुंगटारमा सम्पन्न विस्तारित बैठकमा प्रचण्डले आफूसँग संविधान र किरण (मोहन वैद्य)सँग विद्रोहको कुरा गरेको उनले उल्लेख गरेका छन् ।
त्यसको एक महिनापछिको घटना स्मरण गर्दै लेखेका छन्, ‘०६७ पुसमा काठमाण्डौमा भएको केन्द्रीय समितिको बैठकमा ‘किरणसँग एकता प्रधान, बाबुरामसँग संघर्ष प्रधान’ भन्ने प्रचण्डको अर्को चर्चित महावाणी आयो । तर, केही महिनापछि सिन्धुपाल्चोक सिकुटेमा भएको बैठकमा प्रचण्ड संविधान निर्माण गरेर अघि बढ्ने बाबुरामको लाइनमा आएपछि बल्ल संविधान निर्माणले बाटो समात्यो । त्यतिबेलासम्म परिस्थिति निकै प्रतिकुल बन्दै गैसकेको थियो ।’
बाबुरामको फेसबुक स्टाटस –