काठमाडौं – नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि संविधान पक्षधर राजनीतिक शक्तिहरुलाई एकजुट हुन अपील गरेको छ ।
केन्द्रीय कमिटीको तीन दिनसम्म काठमाडौंमा चलेको बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित गर्दै संविधानको रक्षाका लागि एक हुने उल्लेख गरेको छ ।
बैठकले शुक्रबार पारित गरेको २२ बुँदे प्रस्तावमा एमाले लोकतन्त्रको रक्षाका लागि उभिएको पार्टी भएको र ताजा जनादेश लिने कुरामा स्पष्ट भए पनि अहिले परिस्थिति त्यतातर्फ नरहेको उल्लेख गरेको छ ।
‘मुलुकको प्रमुख राजनीतिक पार्टी र लोकतन्त्रको प्राप्ति एवं रक्षाका लागि अग्रपङ्क्तिमा उभिएको पार्टी हुनुको नाताले नेकपा (एमाले) ताजा जनादेश लिने, आवधिक रूपमा जनअनुमोदित हुने र निर्वाचनको प्रतिष्पर्धामा सहभागी हुँदै जनादेश प्राप्त हुँदा सरकार सञ्चालन गर्ने एवं त्यसो नहुँदा जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने मान्यतामा अविचलित छ’ एमाले बैठकले पारित गरेको प्रस्तावमा उल्लेख छ ।
विशेषगरी एमालेका अध्यक्षमाथि झुठा आरोपमा मुद्दा चलाउन र जसरी भए पनि गिरफ्तार गर्ने दुष्प्रयाशमा सरकार लागिरहेको उल्लेख गर्दै सरकारको संरक्षणमा रहेका सन्देहास्पद पात्रहरू खुलेआम राजनीतिक नेताहरूमाथि भौतिक हमलाका लागि दुरूत्साहन गर्ने, पार्टीहरूलाई चुनावमा भाग लिन नदिने, उनीहरूले जिते परिणाम खारेज गर्ने र नेताहरूलाई विभिन्न मुद्दा लगाएर बाहिरै निस्कनै नदिने धम्की दिइरहेको एमालेको निष्कर्ष छ ।
‘प्रहरीबाट लुटिएका हजारौं थान हतियार र गोलीगठ्ठा बाहिरै राखेर, हजारौँ कैदीहरूलाई खुलेआम हिँड्न र पुनः आपराधिक काममा लाग्न छुट दिने काम भइरहेको वर्तमान अवस्थामा राजनीतिक दलहरू कसरी निर्भयतापूर्वक जनता समक्ष जान सक्छन् ?’ एमालेको सरकारलाई प्रश्न छ,’मतदाताहरू निर्धक्कसँग मतदान केन्द्रसम्म पुग्न सक्छन् ? सरकार यी समस्याको समाधान गर्ने र निर्वाचनको आधार बनाउनेतिर होइन, मुलुकलाई बहुआयामिक सङ्कटतिर धकेल्ने उद्यत् देखिन्छ ।’
प्रतिनिधि पुनर्स्थापनाले मात्रै मुलुकलाई लोकतन्त्रको बाटोमा फर्काउन सक्छ भन्ने स्पष्ट मान्यता रहेको उल्लेख गर्दै एमालेले मुलुकलाई लोकतान्त्रिक बाटोमा फर्काउन संविधानका पक्षधर सबै शक्तिहरू, संसदमा रहेका दलहरू, सबै लोकतान्त्रिक र देशभक्त नागरिक तथा आम जनसमुदायलाई आपसी संवाद, सहकार्यका लागि आह्वान गरेको छ ।
‘सरकार यस्तो बेलामा राष्ट्रिय एकता, मेलमिलाप र सङ्क्रमणकालको व्यवस्थापन तिर होइन, थप तनाव सिर्जना गर्ने बाटोमा अग्रसर छ’ एमालेले भनेको छ । एमालेले सबै नागरिकहरूलाई आफ्नो सुरक्षाका लागि टोलटोलमै सजग भएर टोल सुरक्षा समिति बनाउन, एकापसमा समस्या पर्दा सहयोगी बन्न, सुरक्षाकर्मीहरूको मनोबल उठाउन र अपराधीहरूको पहिचान र कार्बाहीमा सहयोग गर्न आह्वान गरेको छ ।
‘निहत्था युवाहरूको हत्या र देश दहनको भयावह अवस्था देखेका नवयुवाहरू लगायत धेरै नागरिकहरूमा यतिबेला अवशाद, निराशा र सन्त्रास बढिरहेको समाचार बाहिर आइरहेको छ । यस्तो अवस्थामा मनोसामाजिक परामर्श र अन्य उपायहरूद्वारा आम नागरिकहरूको मनोबललाई उच्च राख्न सम्बन्धित सङ्घसंस्था, विज्ञहरू र स्वास्थ्यकर्मीहरूलाई आह्वान गर्दछौं’ एमालेले भनेको छ ।