प्रधानमन्त्रीले वार्ताका लागि बोलाइन् सात दल

63

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सात वटा राजनीतिक दलहरूसँग वार्ता गर्ने भएकी छन्। फागुन २१ गते हुने निर्वाचनका लागि प्रधानमन्त्री कार्कीले दलहरूसँग वार्ता गर्न लागेकी हुन्।

‘कात्तिक ४ गते मंगलबार अपराह्न ४ बजे बालुवाटारमा बोलाउनुभएको हो। राष्ट्रिय मान्यता प्राप्त सात वटा दललाई बोलाइएको हो,’ प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए।

उनका अनुसार प्रत्येक दलबाट दुई जना उच्चस्तरीय प्रतिनिधि पठाउन भनिएको छ। ‘दलका दुई जना उच्चस्तरीय प्रतिनिधि पठाउन भनिएको छ। कतिपयलाई चिठ्ठी पठाइसकेको छ। कतिपयलाई जाने क्रममा छ,’ उनले भने।

यस छलफलमा विघटित संसदका प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिहरू बोलाइएको हो।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले दलका प्रतिनिधिहरूसँग राष्ट्रपति कार्यालयमै छलफल गरेका थिए।

प्रधानमन्त्री कार्कीले राष्ट्रपतिसँगको परामर्शमै दलहरुसँग छलफल गर्न लागेकी हुन्।

समाचार वर्गहरू