काठमाडौं – देशका ३८ सहकारी संस्थामार्फत भएको रेमिट्यान्स कारोबार र धरौटी रकम भुक्तानी नगरेको आरोपमा प्रभु म्यानेजमेन्ट प्रालिका संस्थापक अध्यक्ष देवीप्रकाश भट्टचनसहित पाँच जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ठगी, आपराधिक विश्वासघात र हुन्डीसमेतको कसुरमा उहाँहरूविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
विभिन्न सहकारी र प्रभु मनी ट्रान्सफर तथा प्रभु म्यानेजमेन्टको सम्झौता अनुसार भुक्तानी नपाएको भन्दै सहकारी संस्थाले दिएको जाहेरीका आधारमा अनुसन्धानपछि मुद्दा चलाइएको हो । प्रभु म्यानेजमेन्टमार्फत सहकारी संस्थालाई भुक्तानी दिनुपर्ने रकम उपलब्ध नगराई ठगी र आपराधिक विश्वासघात तथा राष्ट्र बैङ्क अन्तर्गतको कसुर गरेको जिकिर अभियोगपत्रमा लिइएको छ ।
मुद्दामा रामबाबुप्रसाद जयसवाल, हेमकुमार महाजु, देवीप्रकाश भट्टचन, कुसुम लामा, रामेश्वर सापकोटा, श्रुतिका लामा, सन्तोषकुमार लामालाई प्रतिवादी बनाइएको छ । यस्तै प्रभु मनि ट्रान्सफर र प्रभु मेनेजमेन्ट प्रालिलाई पनि विपक्षी कायम गरिएको छ ।
अभियोगपत्र अनुसार प्रतिवादी पाँचै जनालाई समान तीन कसुरमा समान बिगो कायम गरिएको छ । ठगी र प्रभु मनी ट्रान्सफरको कसुरको हकमा फरक फरक छ करोड ५२ लाख ५५ हजार ४२१ रुपियाँ बिगो दाबी गरिएको छ । यस्तै प्रभु मेनेजमेन्टबाट रेमिटको नाममा भएको हुन्डी कारोबारमा छ करोड १० लाख सात हजार १५० रुपियाँ बिगो दाबी गरिएको छ । यस्तै सरकारीको दाबी अनुसार छ करोड ५२ लाख ५५ हजार ४२० रुपियाँ क्षतिपूर्ति भराउन माग गरिएको छ । यस्तै अपराधपीडित कोषमा समेत रकम भराउन माग गरिएको छ ।
कसुर ठहर भएमा प्रतिवादीलाई मुलुकी अपराधसंहिता २०७४ को दफा २४९ को व्यवस्था अनुसार ठगीमा सात वर्षसम्म कैद र ७० हजार रुपियाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ । यस्तै नेपाल राष्ट्र बैङ्कले जारी गरेको निर्देशनविपरीत काम गरेमा दफा ९५ अनुसार कसुर भएमा दफा ९६ अनुसार सजाय हुने छ । जसमा व्यक्तिको हकमा बिगो जफत गरी तीन गुणासम्म जरिबाना वा सात वर्षसम्म तथा दुवै सजायसमेत हुन सक्ने व्यवस्था छ ।