बलात्कार अभियोगमा पूर्वमेयर शिवाकोटी कारागार चलान

92

काठमाडौं – बलात्कारको अभियोगमा झापाको बिर्तामोड नगरपालिकाका पूर्वप्रमुख ध्रुवकुमार शिवाकोटी कारागार चलान भएका छन्।

शिवाकोटीलाई सोमबार जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। अदालतको आदेशसँगै उनलाई कारागार लगिएको प्रहरीले जानकारी दिएको छ।

आफ्नै घरमा काम गर्ने १७ वर्षकी नाबालिक बलात्कारको आरोपमा शिवाकोटीलाई प्रहरीले मंसिर २४ गते पक्राउ गरेको थियो।

यसअघि स्वास्थ्यको कारण देखाउँदै अनुसन्धानका क्रममा प्रहरी हिरासतमा नबसी अस्पतालमा बसेका थिए। तर अदालतले सोमबार कारागारलाई नै स्वास्थ्य उपचारको व्यवस्था गर्न आदेश दिएको छ।

शिवाकोटी २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोडको मेयरमा निर्वाचित भएका थिए। उनी मेयरमा निर्वाचित भएको एक महिना पनि नपुग्दै बालिकाको पालन पोषण गर्ने र पढ्ने व्यवस्था पनि मिलाइदिने शर्तमा घरमा राखेका थिए। बालिका उनकै घरमा बसेर काम गर्दै पढिरहेकी थिइन्। हाल उनी ल्याव टेक्निसियन पढिरहेकी थिइन्।

तर आफू कक्षा ८ मा पढ्दादेखि नै मेयर शिवाकोटीले पटक पटक बलात्कार गरेको आरोप पीडितको छ। श्रीमती घरबाहिर गएको बेला आफूलाई बलात्कार गर्ने गरेको आरोप पीडित बालिकाको छ।

शिवाकोटीले भने बालिकालाई छोरी मानेर सोही अनुसार व्यवहार गरेको दाबी गर्दै अदालतमा बयान दिएका छन्।

समाचार वर्गहरू