काठमाडौं – मंगलबार मात्रै संसदिय दलको नेताको हैसियत गुमाएका बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले तीन जनालाई मन्त्री नियुक्तको तयारी गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलको नेताबाट मंगलबार मात्रै विश्वास गुमाएका लामाले मन्त्री नियुक्तको तयारी गरेको उनी निकट सांसदले जानकारी दिए ।
‘हामी तीन जनालाई मन्त्री नियुक्त गर्दैछौं । अब प्रदेश प्रमुखको कार्यालयमा नाम पठाउँदैछौं । १० बजेपछि सपथ गराउन खोज्दैछौं’, ती सांसदले भने ।
आन्तरिक मामिला तथा कानुन, युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन, खानेपानी, ऊर्जा तथा सिंचाइ र सहकारी तथा गरिवी निवारण मन्त्रालय नेतृत्वविहीन छ ।
मंगलबार संसदीय दलको अविश्वास प्रस्तावको पक्ष–विपक्षमा मतदान हुँदा मुख्यमन्त्रीसमेत रहेका दलका नेता लामाले १५ मत मात्रै पाएका थिए भने उनको विपक्ष २२ मत थियो । कांग्रेसको बागमती प्रदेश सभामा ३७ जना सांसद छन् ।