काठमाडौं – बागमती प्रदेश सरकारले १० लाख वा १० लाख भन्दा बढीका योजनाहरु ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने भएको छ ।
यस सम्बन्धी निर्णय मन्त्रीस्तरबाट भइसकेको र अब यसलाई मन्त्रिपरिषदबाट अनुमौदन गराउने तयारीमा रहेको आर्थिक मामिला तथा योजना मन्त्री प्रभातकुमार तामाङले बताए ।
‘मंगलबारको मन्त्रीस्तरीय निर्णयबाट प्रदेशमा पहिलो पटक यो निर्णय लिइएको छ,’ मन्त्री तामाङले भने, ‘प्रदेश सरकारको आगामी मन्त्रिपरिषद्को बैठकबाट पनि निर्णय भएपछि कार्यान्वयनमा लगिने छ ।’
बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले केही दिनअघि निर्माण व्यवसायी संघ मकवानपुरको सार्वजनिक कार्यक्रममा नै १० लाख माथिका योजना ठेक्काबाट कार्यान्वयन गर्ने घोषणा गरेका थिए ।
मन्त्री तामाङले बजेटमा बिचौलियाको प्रवेश भएको गुनासो प्रदेशसभा बैठकमा जोडले उठेको विषयको सम्बोधन र ठेक्का प्रक्रियामा जाँदा बजेटको संचिती पनि हुने दुई मुख्य कारणले १० लाखमाथिका योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने निर्णय लिएको बताए ।
‘हामीले बजेट तर्जुमा गर्दाको र कार्यान्वयनको अवस्था, आगामी बजेट निर्माणमा मार्गनिर्देशनका रुपमा र धेरै पक्षको मूल्यांकन गरेर यो निर्णय लिएका छौं,’ उनले भने, ‘आगामी मन्त्रिपरिषद्मा अनुमोदनका लागि पेश गर्ने निर्णय पनि भएको छ ।’