काठमाडौं – बीपी राजमार्गअन्तर्गत काभ्रे खण्डमा आज साउन १ गतेदेखि रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म (१२ घण्टा) सवारी साधन चलाउन रोक लगाइएको हो ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले वर्षामा बाढीपहिरोको जोखिम भएकाले रातिको समयमा काठमाडौंबाट जाने सवारीलाई काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिने बताए ।
गत वर्ष असोजको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा क्षति भएको थियो । त्यसपछि सडक नै बगाएका कारण खोलामा कतै एकतर्फी, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो ।
पूर्वी नेपाल जोड्ने छोटो दूरीको उक्त राजमार्गबाट दैनिक सयौं यातायातका साधान आउजाउ गर्छन् ।