काठमाडौं नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा स्वतः निलम्बन भएका छन्।
सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन गरेपछि अध्यक्ष ओझा स्वतःनिलम्बनमा परेका हुन्। उक्त समितिमा बिमा विज्ञ कपिल ओली र एक जना अर्थशास्त्री रहेका छन् ।
सरकारले गत फागुन १२ गते ओझालाई बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । उनले अध्यक्ष हुन पेस गरेका कागजातमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ । ‘यो समितिलाई पनि उनको योग्यता र कार्यशैलीप्रति छानबिन गर्न म्यान्डेट दिइएको छ,’ एक मन्त्रीले भने ।
बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ अनुसार उनी स्वतः निलम्बनमा परेका हुन्। ‘अध्यक्ष वा कुनै सदस्यको हकमा उपदाफ (२) बमोजिम छानबिन समिति गठन भएपछि छानबिनको अवधि समाप्त नभएसम्म त्यस्तो व्यक्ति स्वतः निलम्बन हुनेछ,’ बीमा ऐनमा भनिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै तीन सदस्यीय छानबिन समिति गठन गरेको हो। सरकारले गत फागुन १२ गते ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो।