काठमाडौं – बुटवल-नारायणगढ सडकखण्डको दाउन्ने-बर्दघाट खण्डअन्तर्गत खुर्साने खोला नजिक सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
मङ्गलबाररातिको वर्षाका कारण सडकको केही भाग बगाएपछि यातायात सेवा ठप्प भएको सडक आयोजनाले जनाएको छ।
सडक मर्मतको कार्य यथासम्भव छिटो सुरु गरिने भए पनि तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। मनसुन सुरु भएदेखि नै यो स्थानमा पटक-पटक सडक अवरुद्ध हुँदै आएकोले यस सडकखण्डमा यात्रा गर्नेहरूले बारम्बार सास्ती भोग्दै आएका छन्।
वर्षाका कारण सडक बगेसँगै अहिले उक्त सडकखण्ड पूर्ण अवरुद्ध छ । सडक अवरुद्ध भएपछि सयौँ सवारीसाधन रोकिएका छन् ।
‘वर्षाको कारण क्षति भएको सडकको मर्मत कार्य सुरु भइसकेको छ,” आयोजनाले भनेको छ, “आज दिउँसोसम्ममा दुवैतर्फी सडक सञ्चालन गर्नेगरी काम भइरहेको छ ।”