बैतडीमा बाढीपहिरोको जोखिम बढेपछि राति गाडी चलाउन रोक

64

काठमाडौं – अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले रातिको समयमा राजमार्ग र सहायक सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

तीन दिनदेखि लगातार वर्षा हुँदा सुदूरपश्चिम प्रदेशका बैतडीसहितका जिल्लाको जनजीवन प्रभावित भएको छ । महाकाली नदीको सतह बढेकाले किनारका बासिन्दालाई चनाखो रहन आग्रह पनि गरिएको छ ।

बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले विपदको जोखिम भएकाले स्थानीय उच्च सतर्कता अपनाउन, जोखिम भएका स्थानमा नबस्न र अति आवश्यक नभई यात्रा नगर्न भनिएको जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले मनसुनजन्य विपद्का सम्भावनालाई मध्यनजर गर्दै आवतजावतमा विशेष सावधानी अपनाउन, अत्यावश्यकबाहेक यात्रा नगर्न, रातको समयमा जोखिमयुक्त स्थानमा नबस्न, नदी–खोल्सामा नजान तथा सतर्कतापूर्वक यात्रा गर्न सबैलाई आग्रह गरेको छ ।

विपद्को जोखिम रहँदासम्म आपत्कालीन अवस्थाबाहेक रातिको समयमा सवारीसाधन नचलाउन र यात्रा नगर्न अनुरोध गरिएको प्रजिअ पौडेलले बताए ।

जिल्ला प्रहरी कार्यालयले पनि अविरल वर्षाका कारणले बाढीपहिरो आई बाटोघाटो अवरुद्ध हुनसक्ने भएकाले बाहिर निस्कँदा र लामो तथा छोटो दूरीका सवारीसाधन चलाउँदा सावधानी अपनाउन आग्रह गरेको छ ।

समाचार वर्गहरू