भाइटीकाको शुभ साइत बिहान ११ः५५ बजे

16

(काठमाडौं) – नेपालीहरुको दोश्रो ठूलो चाड तिहार अर्थात यमपञ्चकको अन्तिम दिन आज भाइ टीका । दिदी बहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाएर भाइटिका मनाईंदैछ ।

भाइटीकाका दिन दिदी बहिनीले दाजुभाइको निधारमा दीर्घायु र प्रगतिको कामना गर्दै सप्तरंगी टीका लगाइदिने गरिन्छ । दिदी बहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइ दिंदा धार्मिक विधिपूर्वक मण्डप बनाई अष्ट चिरञ्जजीवीका साथै यमराज र यमुनाको पूजा गरी तेलको घेरा हालेर ओखर फुटाई मखमली सयपत्री र दुबोको माला लगाएर चिरायुको कामना गर्ने गर्दछन् ।

टीका लगाइसकेपछि दिदी बिहनीले दाजुभाइलाई सगुन, मिठाई, फलफूल, ओखर, कटुस, मसला, सेल रोटी दिने चलन छ । दाजुभाइले पनि टीका लगाइदिएर दिदी बहिनीलाई गच्छे अनुसार उपहार तथा दक्षिणा दिएर उनीहरुको अटल सौभाग्य सुख समृद्धि र चिरायुको कामना गर्ने गर्दछन् ।

पौराणिक मान्यता अनुसार यमुनाले आफ्ना दाजु यमराजलाई बिशेष सम्मानका साथ पुजा गरी टिका लगाई दीर्घायुको कामना गरेको सम्झनामा भाइटीका लगाउने परम्परा चल्दै आएको हो । बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको उत्तम साईत रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

यद्यपि, दिनभरी नै टीका लगाउन फरक नपर्ने पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राध्यापक रामचन्द्र गौतमले बताए ।

समाचार वर्गहरू