भारतमा मजदुरी गरेर पक्की घर बनाएकी कमलाको छाउगोठमा गयो ज्यान

113

धनगढी – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजी गत वैशाखमा भारतबाट फर्किएकी थिइन् । श्रीमानसँगै भारतमा मजदुरी गर्दै आएकी कमला छोरालाई पढाउन भनेर घर फर्किएकी हुन् ।

उनका ६, ८ र १२ वर्षीय छोराहरू विद्यालय भर्ना भएर पढिरहेका थिए । भारतमा मजदुरी गरेर जोहो गरेको पैसाले कमलाले कृष्णपुरमा हालै एक तले पक्की घर पनि बनाएकी थिइन् ।

शुक्रबार साँझ कमला आउजीलाई महिनावारी भयो । छाउ बार्ने परम्पराअनुसार उनी महिनावारी भएका बेला छाउगोठमा बस्दै आएकी थिइन् । घर नजिकै कच्ची छाउकोठ पनि बनाइएको थियो ।

तर, शुक्रबार भने उनी आफ्नो घरको आगनमै बनाइएको छाउगोठ पानी परेपछि चुहिने भएकाले बसिनन् । नातामा जेठाजु समेत पर्ने छिमेकी सुके आउजीको घरमा बनाइएको छाउगोठमा सुत्न गएकी थिइन् । तीन छोरालाई घरमा सुताएर छाउगोठमा सुत्न गएकी कमलालाई सुतेकै बेला सर्पले डस्यो ।

बाँया गालामा सर्पले डसेको थाहा पाएपछि उनले छरछिमेकीलाई खबर गरेकी थिइन् । बोल्न सक्ने अवस्थामै रहेकी कमलालाई डसेको करेत सर्प उनको विस्तरा नजिकै हिंडिरहेको अवस्थामा भेटिएको भिडियो समेत स्थानीयले बनाएका थिए ।

उनका छिमेकी सुचित्र शाहकाअनुसार राति करीब साढे १२ बजे सर्पले कमलालाई डसेको कुरा थाहा भएको थियो । उनलाई तत्कालै अटो रिक्सा खोजेर उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।

प्रादेशिक अस्पतालमा बिरामीको चापका कारण आईसीयू र भेन्टिलेटर खाली थिएनन् । झन्डै डेढ घण्टापछि कमलालाई आईसीयूमा राखेर उपचार सुरु गरिएको शाह बताउँछन् ।

‘सर्पले डसेपछि राति नै हामीलाई खबर गरिएको थियो । हामीले तत्काल अटोरिक्सामा राखेर प्रादेशिक अस्पताल पुगाएका थियौं’, शाहले भने, ‘त्यहाँ आईसीयू र भेन्टिलेटर खाली थिएन । डेढ घण्टापछि मात्र आईसीयूमा राखिएको थियो । तर उहाँलाई बचाउन सकेनौ्र ।’

मृतक कमला महिनावारी भएकै कारण छाउगोठमा सुतेका बेला आउजीलाई सर्पले डसेपछि उनका तीन छोराहरु टुहुरा भएका छन् । श्रीमतीको अल्पायुमै मृत्यु भएको खबरपछि उनी अन्तिम संस्कारका लागि घर फर्किरहेका छन् ।

मृतक कमलाको शव भने सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । पुरनले आफू घर पुगेपछि शव बुझ्ने बताइएको छ । पुर्ख्यौंली घर अछामको मेल्लेख गाउँपालिका–८ भएकी कमला आउजी महिनावारी भएका बेला घरमा सुत्यो भने देवता रिसाउँछन् भन्ने अन्धविश्वासका कारण छाउगोठमा सुतेकी थिइन् ।

कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा छाउपडी भएका बेला छाउगोठमा सुत्ने गलत मान्यतालाई चिर्न गत वर्षदेखि सचेतनामुलक अभियान चलाइएर गोठ भत्काउने काम समेत गरिएको बताउँछन् । तर, ग्रामीण क्षेत्रमा अहिले पनि छाउगोठमा बस्ने परम्परा कायमै रहेका कारण दुःखद् घटना हुन पुगेको उनी बताउँछन् ।

‘हामीलाई बालमैत्री वडा घोषणा गर्ने क्रममा छाउपडी कुप्रथाले समस्याका रुपमा देखा परेको थियो । त्यसपछि वडाहरुमा छाउपडी कुप्रथाविरुद्ध सचेतनामुलक कार्यक्रम सञ्चालन गरेका थियौं,’ ओझाले भने, ‘वडा नम्बर १ को कुमगडामा केही छाउगोठ भत्काइएको थियो तर अझै यो प्रथा कायमै हुँदा दुःखद घटना व्यहोर्नुपर्‍यो ।’

२३ साउन २०८० मा बैतडीमा छाउगोठमा सुतेका बेला १६ वर्षीया किशोरीले अकालमै ज्यान गुमाएकी थिइन् । पञ्चेश्वर गाउँपालिका–४ को फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पले डस्दा मृत्यु भएको थियो ।

सरकारले सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउपडी कुप्रथा उन्मूलन गर्ने नीतिअनुसार छाउगोठ भत्काउने अभियान नै चलाएको थियो । प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार सुदूरपश्चिमका ७ जिल्लामा ७ हजार ५४५ छाउगोठ भत्काएको थियो ।

अभियानका क्रममा कञ्चनपुरमा मात्र २३० घर छाउगोठ भत्काएको थियो । सबैभन्दा धेरै अछाममा ५८१३ छाउगोठ भत्काइएको प्रहरीको तथ्यांक छ । बाजुरामा ५५७, डोटीमा ३९३, कैलालीमा ३८६ र डडेल्धुरामा २३ छाउगोठ भत्काइएको थियो ।

स्थानीय तहका जनप्रतिनिधिको समन्वयमा गृह मन्त्रालयले प्रहरी प्रशासनमार्फत छाउगोठ भत्काएपनि उक्त अभियानले सार्थकता पाउन नसकेको कुराको ज्वलन्त उदाहरण कञ्चनपुरको पछिल्लो घटना हो ।

अर्कोतिर छाउपडी प्रथा उन्मूलन गर्न कानुन बने पनि सुदूरपश्चिममा भने कानुन विपरीत छाउपडी कुप्रथा मान्दै छाउगोठमा महिलालाई राख्ने गलत परम्पराको अन्त्य हुन सकेको छैन ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० मा भेदभाव र अपमानजनक व्यवहारसम्बन्धी कसुर शीर्षकको दफा १६८ उपदफा ९३० मा महिलाको रजस्वला र सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन भनिएको छ ।

यस्तो गरेको ठहरिएमा ३ महिनासम्म कैद वा ३ हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था उक्त ऐनले व्यवस्था गरेको छ ।

सार्वजनिक ओहदाको व्यक्तिले यस्तो विभेद् गरेको ठहरिएमा अन्य व्यक्तिलाई हुने सजाय भन्दा दोब्बर सजाय हुने व्यवस्था गरिएको छ । सोही कानुनको दफा १६९ मा यस्तो कसुर गर्ने व्यक्तिबाट पीडितलाई पुगेको क्षति र पीडावापत मनासिब क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था छ । तर यहाँ भने कानुनले अपराध मानेको छाउपडी कुप्रथा समाजमा परम्पराका रुपमा जगडिएर बस्दा महिलाहरुले अकालमै मृत्युवरण गर्नुपरेको छ । प्रेसपत्र अनलाइन बाट साभार

समाचार वर्गहरू