मतदाता शिक्षा कार्यमा सहयोगका लागि आयोगको अनुरोध

15

(काठमाडौं) – निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रका सम्पूर्ण मतदाता समक्ष मतदाता शिक्षा कार्यमा सहयोगका लागि अनुरोध गरेको छ । उपनिर्वाचन हुने क्षेत्रमा खटिने मतदाता शिक्षा कार्यकर्तालाई सहयोग गरी सबैको सहभागितामा सफलतापूर्वक उपनिर्वाचन सम्पन्न गर्ने गराउने कार्यमा योगदान पुर्याउन अनुरोध गरेको हो ।

स्थानीय तहका प्रत्येक वडामा दुई जनाका दरले खटिने मतदाता शिक्षा कार्यकर्ताले उपनिर्वाचन सम्बन्धी जानकारीमूलक पोष्टर टाँस्नुका साथै निर्वाचन सम्बन्धी पुस्तक र पर्चा वितरण गर्ने छन् । उनीहरुले नमूना मतपत्रको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे पनि मतदातालाई जानकारी गराउने छन् ।

मतदाता कार्यकर्ताको रूपमा सम्बन्धित जिल्लास्थित प्राथमिक तह वा बाल विकास केन्द्रका शिक्षिका, महिला स्वास्थ्य स्वयंसेविका मध्येबाट आवश्यक संख्यामा जिल्ला निर्वाचन कार्यालयबाट खटिएको आयोगले जनाएको छ ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह सदस्यको रिक्त पदका लागि यही मंसिर १४ गते उपनिर्वाचन हुने ३७ जिल्लामा मतदातालाई प्रशिक्षित तुल्याउन बिहीबारदेखि मतदाता कार्यकर्ता परिचालित छन् ।

मतदाता कार्यकर्ताले ठीक तरिकाले मतदान गर्न र बदर मत न्यूनिकरण गर्न मतदाताको घरदैलोमै पुगेर मतादाता शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । सामुदायिक केन्द्रका तालिम प्राप्त सहजकर्तालाई समेत मतदाता शिक्षा कार्यक्रममा समावेश गरिएको आयोगले जनाएको छ ।

समाचार वर्गहरू