मन्त्री नै खुल्लमखुला डिल गरिरहेका छन्,बयान कहाँ गएर दिने प्रधानमन्त्रीज्यू ? – प्रचण्ड

91

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले सत्तालाई बिचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा चलाएको आरोप लगाएका छन् ।

सदनमा सम्बोधन गर्दै उनले सरुवा तथा भूमि आयोग पदाधिकारी नियुक्तिमा मन्त्रीले खुलेआम लाखौंको डिल गरिरहेको भन्दै प्रधानमन्त्रीलाई प्रश्न तेर्स्याए । उनले भने, ‘तपाईंका मन्त्री खुल्लमखुल्ला लाखौंको डिल गरिरहेका छन्, प्रधानमन्त्रीज्यू ! चित्रगुप्तलाई बयान कहाँ गएर दिने हो ?’

पूर्वप्रधानमन्त्री समेत रहेका उनले ‘भ्रष्टाचार गर्दिनँ र गर्न दिँदैन’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई आमजनताले जाली ठानिसकेको र त्यसको विपरीत सरकारको क्रियाकलापले त्यो साबित गरिदिएको दाबी गरे ।

उनले भने, ‘गत वर्ष नै मैले भनेको थिएँ सुशासन र संविधान कार्यान्वयन सरकारको प्राथमिकता होइन । सरकार अँध्यारो कोठामा बिचौलियाको स्वार्थ पूरा गर्न बनाइएको थियो । आज पनि त्यही काममा प्रधानमन्त्रीदेखि मन्त्री व्यस्त छन्।’

सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले जनजीविकाका सवाल, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सत्ताका लागि घाँडो जस्ता भएका टिप्पणी गरे । उनले भने, ‘एउटै मुद्दामा आफ्नालाई बचाउने र विपक्षीलाई राजनीतिक प्रतिशोधको शिकार बनाउने कुरामा त सरकारले विश्व रेकर्ड नै बनाएको छ ।’

शासकीय स्वरूप, निर्वाचन प्रणाली, प्रदेशको नाम, सीमांकन, वित्तीय संघीयता, समावेशिता र सामाजिक न्यायका विषयमा अग्रगामी संशोधन गर्न दुईतिहाइ बहुमत जुटाउनुपर्ने आवश्यकता औंल्याउँदै भने, ‘यदि सरकारसँग हिम्मत छ भने प्रमुख प्रतिपक्षका नाताले त्यो बहुमत जुटाउने जिम्मेवारी म लिन्छु ।’

उनले गणतन्त्रको भविष्यमाथि खतरा सरकारको कार्यशैलीबाट आएको दाबी गरे । भने, ‘यदि गणतन्त्रमाथि कतैबाट खतरा छ भने त्यो राजावादी या अन्य कसैबाट होइन, सरकारकै कार्यशैलीबाट हो ।’

उनले सत्तापक्षलाई जनताको धैर्यको सीमा नाघ्न नदिन सचेत गराउँदै चेतावनी दिदै भने, ‘तपाईंहरू अझै पनि संख्याको दम्भमा जे गरे पनि हुन्छ भन्ने सोचले कुशासनको तानाशाही गाडा कुदाउँदै हुनुहुन्छ । यो बन्द हुनु पर्दछ, अन्यथा जनताको धैर्यको सीमा टुट्नेछ ।’

समाचार वर्गहरू