माओवादी उपस्थित नभएपछी कर्णाली प्रदेश सभा बैठक स्थगित

94

काठमाडौं – कर्णाली प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र उपस्थित नभएपछि बैठक अवरुद्ध भएको छ ।

सोमबार बसेको प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशनको छैटौं बैठकमा प्रमुख प्रतिपक्ष दल माओवादी उपस्थित नभएपछि बैठक अवरुद्ध भएको हो ।

सभामुख नन्दा गुरुङले संसद् बैठक सञ्चालन गरे लगतै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले प्रतिपक्ष दलको उपस्थितिविना संसद् अगाडि बढाउन नहुने धारणा राखे ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा बैठक सञ्चालन गर्ने सहमति भए पनि उक्त विषयलाई माओवादीले नजरअन्दाज गरेको विष्टले बताए । ‘सर्वदलीय सहमति जुटेर कार्यसूचीमा प्रवेश गरेको विषयमा छलफल हुने दिन प्रतिपक्षको बेन्च खाली देख्दा अचम्म लागेको छ । मेरो विचारमा यो नौलो अभ्यास हो । यदि उपस्थिति नहुनुपर्ने थियो भने हिजो किन सहमति गरेको हो ?’ सांसद विष्टले प्रदेश सभालाई सम्बोधन गर्दै भने ।

विष्टका अनुसार प्रतिपक्षी दल माओवादीका तर्फबाट कार्यव्यवस्था परामर्श समितिको बैठकमा सांसद मिलन खड्काले हस्ताक्षर गरेकी थिइन् ।

‘प्रचण्डको अभियानमा जाने भन्ने कुराहरू सुनिएको थियो । तर बैठक नराख्न भनिएको थिएन । बरु सहभागी हुन सक्दैनौ भनेको भए, बैठक राख्न आवश्यक नै थिएनन् नि । पछि बसे पनि हुने थियो,’ विष्टले भने ।

प्रमुख प्रतिपक्षी दलको सहमति विना एकलौटी बैठक बोलाएपछि आफूहरू बैठकमा उपस्थिति नभएको माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बताए । ‘हिजो बसेको कार्यव्यवस्था समितिको बैठकमा हामीले ७/८ गतेसम्म बैठक बोलाए हुन्छ भनेका थियौं’ उनले भने, ‘खासै महत्त्वपूर्ण एजेन्डा नहुँदा पनि बैठक बोलाउने काम भयो । हामीले हिजो नै जानकारी गराइसकेका थियौं ।’

संसद् सञ्चालन नगर्न विष्टले सभामुखलाई आग्रह गरेलगत्तै सभामुख गुरुङले १८ जेठसम्मका लागि बैठक स्थगित भएको जानकारी गराइन् ।

समाचार वर्गहरू