म एमालेमा जाने भएको छु – वामदेव गौतम

35

काठमाडौं – नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा (एमाले)मै फर्किने भएका छन् ।

आइतबार (आज) बिहान प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपीशर्मा ओलीसँग फोनवार्ता भएको थियो । फोन वार्तापछि उनले आफू एमालेमा नै जान तयार भएको प्रतिक्रिया दिएका हुन् ।

आज बिहान ओली फोनवार्ता हुँदा कुरा सकारात्मक भएको बताउँदै उनले भने “एमालेमा फर्कन दुई वर्षदेखि प्रयास गरेको थिएँ । पहिले तयार हुनुभएन । अहिले तयार भएर खबर गर्नुभएको छ।”

केहीयता माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा प्रवेश गर्ने गरी पनि छलफल भएको थियो । तर, जिम्मेवारीबारे कुरा नमिल्दा उनी एमाले नै जान तयार भएका हुन् ।

“एकीकृत समाजवादीमा जाने नै मनस्थिति बनाएको पनि थिएँ । मेरा कुरा उहाँहरूले ग्रहण गर्नुभएन,” उनी भन्छन् ।

गौतमले पार्टी प्रवेश गर्न सक्रिय भूमिका माग गर्दै आएका छन् । ओलीले भने पहिले पार्टीमा आएपछि मात्रै जिम्मेवारी दिने वचन दिएका छन् ।

“धेरै साथीहरूले, घरपरिवारका साथीहरूले एमाले नै जानुपर्छ भनेपछि म एमालेमा जाने भएको छु,” उनी भन्छन्, “ओजीले पहिला आउनुस् न, यहाँ आएपछि अपमान गर्छौं ? भन्नुभएको छ ।”

प्रधानमन्त्री ओलीको सचिवालयले पनि नेता गौतमसँगको संवाद सकारात्मक भएको बतायो। ‘उहाँहरूबीच शुक्रबार कुराकानी भएको हो। प्रधानमन्त्री भेटेर फर्किँदा गौतम उत्साहित देखिनुहुन्थ्यो,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो।

समाचार वर्गहरू