काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बाग्मती प्रदेश लगायत देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा र देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति भने गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।