यी हुन् माओवादीले गरेका १६ निर्णय

21

काठमाडौं – माओवादी केन्द्रीय समिति बैठकले पहिलो छ महिना राजनीतिक अभियान र त्यसपछिको अर्को छ महिनापछि महाधिवेशन गर्ने निर्णय गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन पारित गर्दै माओवादीले एक वर्षपछि पार्टी महाधिवेशन गर्ने समय तय गरेको हो ।

माओवादी केन्द्रको केन्द्रीय समितिले १६ वटा निर्णय गरेको छ। मंगलबार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले एक वर्षभित्र पार्टीको नवौं महधिवेशन गर्ने अध्ययक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव सर्वसम्मतले पारित गरेको हो।

बैठकले अब पहिलो छ महिना अभियानमा जाने र त्यसपछि अर्को छ महिनाको तयारी गरेर नयाँ विचार संश्लेषणका लागि महाधिवेशनमा जाने निर्णय गरेको छ।

माघ महिनाभरि अभियानको तयारी गरेर फागुन १ गते जनयुद्ध मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ।

त्यस्तै, चैतभरि तयारी गरेर वैशाख महिनाभरि हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्य पहाडी लोकमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ।

बैठकले सबै नेताहरूले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रस्ताव पारित गरेको छ। सबै नेता पालिका र वडासम्म पुग्ने गरी केन्द्रीय कार्यालयले सबै नेताहरूको एक हप्ताभित्र कार्यविभाजनलाई  अन्तिम रूप दिने र माघको पहिलो सातासम्म सर्कुलर गरिने अध्यक्ष प्रचण्डले बैठकलाई जानकारी दिए।

पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकले जनतासँग माओवादी अभियान चलाउने निर्णय गरेको हो। अभियानको ६ महिनापछि महाधिवेशन कार्यक्रमसहित अघि बढ्ने निर्णय बैठकले गरेको छ।

समाचार वर्गहरू