काठमाडौं – भीषण वर्षासँगैको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । गएरातिको बाढीले पुल बगाएसँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।
यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जानकारी आएको समेत उनले मंगलबार बिहान मध्यबिन्दु अनलाइनलाई बताए ।
उनले ड्राइपोटमा काम गर्ने केही ड्राइभर, लेबर (मजदुर) लाई पनि बाढीले बगाएको हुनसक्ने भन्दै जानकारी आएको भएपनि हालसम्म पुष्टि भने हुन नसकेको बताए ।
उनले समग्रमा क्षति ठूलो भएको भन्दै घटनास्थलमा पुगेर क्षतिको थप विवरण र सूचना संकलन गर्ने काम भइरहेको बताए ।
जिल्ला प्रशासन कार्यालय धादिङ ,नुवाकोट र रसुवाले त्रिशुली नदीको उपल्लो भूभाग नुवाकोट र रसुवातर्फ अति भारी वर्षा भएको कारण सडक पुलमा समेत केही क्षति पुर्याएकोले धादिङ जिल्लाको त्रिशुली नदी किनारका दुवै तर्फ पानीको बहाव बढ्न सक्ने भएकाले त्रिशुली नदी किनारका क्षेत्रमा आवश्यक सतर्कता र सावधानी अपनाउन अनुरोध गरेका छन् ।
घटनाको थप विवरण आउने क्रम जारी छ ।