हामी छोरी मान्छेसँग कहिल्यै ठूलो श्वरमा बोल्दैनौँ
काठमाडौं -‘अर्काको घरकी छोरीलाई आफ्नो बनाइसकेपछि (विवाह गरिसकेपछि) माया गर्नुपर्छ, उनीहरुको भनेको मान्नुपर्छ, जस्तो आफ्नो बहिनी, छोरी हो, उस्तै गरेर राख्नुपर्छ,’ श्रीमानश्रीमतीबीच झैझगडा हुन्छ कि ? हुँदैन ? भन्ने नागरिकको प्रश्नमा राउटे मुखिया मध्येका एक वीरबहादुर शाहीले एकै स्वरमा भने, ‘हामी समाजमा छोरी मान्छे(महिला)सँग कहिल्यै ठूलो स्वरले बोल्दैनौँ ।’
राउटेसँगको मेरो २० वर्षदेखिको संगतले पनि उनको भनाइलाई शतप्रतिशत समर्थन गर्छ । केही दिनअघि राउटे बस्तीमा पुग्दा दिलबहादुर शाही घर बनाउँदै थिए । उनी सालका पोथ्रा काटेर खाँबो ठड्याउँदै थिए । उनको कान्छा छोरा ठड्याएको त्यहीँ खाँबो काटिरहेका थिए ।
सोधेँ, तपाईँ घर बनाउँदै हुनुहुन्छ, छोराले त भत्काउँदै गइरहेको छ । ‘सानो बालक हो, उसले थाहा पाउँदैन्, ठूलो भएपछि आफै बुझ्छ, गाली गर्नुहुन्न,’ उनको सहज जवाफ दिए, ‘उसले एउटा काट्यो भनेर के दुःख मान्नु जंगलभरी रुखै रुख छन् अर्को ल्याउँला ।’
यी दुई उदाहरणले महिला र बालबालिकाप्रति राउटे समुदायले कस्तो व्यवहार गर्छ भन्ने देखाउँछ । बाह्य समुदायले हेर्दा राउटे समुदाय पुरुष नियन्त्रित देखिन्छ । बाह्य व्यक्तिहरुसँग महिला हत्तपत्त बोल्दैनन्, बोल्नुपर्यो भने पुरुषनै अघि सर्छन् । तर, उनीहरुको आन्तरिक जीवनमा सम्पूर्ण निर्णयको अधिकार मात्रै होइन्, आर्थिक अधिकार पनि महिलामा निहित हुन्छ ।
सरकारले लोपोन्मुख राउटे समुदायका लागि मासिक चार हजार सामाजिक सुरक्षा भत्ता दिन्छ । दैलेखको गुराँस गाउँपालिकाका अस्थायी नागरिक भएकाले भत्ता वितरणको जिम्मा उसको हो । तीन–चार महिनामा एक पटक भत्ता वितरण गर्दा एउटै घरकाले एक लाख रुपैयाँसम्म पाउँछन् । ‘हामीले ल्याप्चे हानेर सरकारबाट पैसा बुझ्छौँ, त्यो सबै घरमूली (श्रीमती)लाई दिन्छौँ,’ राउटे समुदायका युवा प्रकाश शाहीले भने, ‘बजारबाट केही समान किनेर ल्याउनु परेपछि श्रीमतीले अट्कलेर दिन्छिन् ।’
एकै ठाउँमा नबस्ने, खेतीपाती नगर्ने र लेखपढ नगर्ने यो समुदाय बस्ती सर्दा पनि महिलालाई अनुकुल हुने ठाउँको खोजीमा हुन्छ । राउटे समुदायका पुरुषहरुले सिकार गर्ने, काठका भाँडावर्तन बनाउने र बजारसम्म लगेर बिक्री गर्ने काम गर्छन भने महिलाले पानी ल्याउने, खाना पकाउने लगायतका घर–व्यवहारका काम गर्छन् ।
‘बस्ती एकातिर पानी अर्कोतिर भएपछि महिलालाई दुःख हुन्छ,’ राउटे युवा खगेन्द्र शाहीले भने, ‘महिलालाई सहज हुने गरेर पानी भएकै ठाउँमा बस्ती सर्नुपर्छ ।’
हरितालिका तीजको दिन राउटे बस्तीमा पुग्दा हिरासिंह थापा श्रीमती बाङ्गे शाहीको कपालको जुम्रा टिप्दै थिए । ‘श्रीमतीको स्याहार श्रीमानले नगरेर कस्ले गर्छ,’ हिरासिंहले भने, ‘जहान (श्रीमती) र छोरीको कपाल कोर्ने, जुम्रा हेर्ने काम पुरुषकै हो, कहिलेकाहीँ छोरीको आमाले पनि जुम्रा हेर्छन्, कपाल कोरिदिन्छन् ।’
राउटे समुदायसँग काम गर्दै आएको सोसेक नेपालको जोडी शिक्षक दुर्गा खत्रीले आफूले काम गर्न थालेको आठ वर्षयता महिला तथा बालबालिकामाथि शून्य हिँसा देखेको बताइन् । ‘अहिल्यै श्रीमान–श्रीमती वा पुरुष र महिलाबीच आजसम्म झगडा भएको, ठूलो स्वरले बोलाबोल भएको देखिएको, सुनिएको छैन्,’ उनले भनिन्, ‘जस्तै बिगार गरेपनि बालबालिकामाथि पनि कहिल्यै कुटपिट गर्ने, ठूलो स्वरले कराउने उनीहरुले गर्दैनन् ।’
राउटे समुदायका तीन वटा गोत्र छन्, कल्याल, स्ववंशी र रास्कोटी । तीन वटै गोत्रबाट एक–एक जना मुखिया चुनिएका हुन्छन् । ती मुखिया बाह्य समाजको सम्पर्कका लागि मात्रै हुन् । ‘अन्य सबै कुरामा महिला निर्णायक हुन्छन्,’ उनले भनिन्, ‘आर्थिक अधिकारदेखि खानपिनको निर्णयसम्म, बस्ती सर्नेदेखि कस्तो घर बनाउनेसम्मको निर्णय महिलाको हुन्छ ।’ नागरिक दैनिक