राष्ट्रपतिलाई राजनीति गर्न संविधानले रोक्दैन, पार्टीले रोक्न मिल्दैन – पाण्डे

54

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपतिले राजनीति गर्न मिल्ने तर्क गरेका छन् ।

सेन्टर फर पब्लिक पोलिसी रिसर्च नेपालले नेकपा एमालेको लोकतान्त्रीकरण विषयमा गरेको अन्तर-संवादमा पाण्डेले भने, ‘नेपालको संविधानले कुनै पनि व्यक्तिलाई पार्टीमा काम गर्न निषेध गरेको छैन ।’

उनले संविधानले राष्ट्रपति नियुक्तिको मापदण्ड, नियुक्ति भएपछि हुने व्यवस्थाका विषयमा बोलेको उल्लेख गर्दै तीन अवस्था बाहेक संविधानले राष्ट्रपतिको विषयलाई कुनै बन्देज नलगाएको बताए ।

उनले भने, ‘जस्तो राष्ट्रपतिलाई पनि कुनै पार्टीको सदस्य नहुनु भनेको छैन । संविधानले तीन विषयको मात्र चर्चा गरेको छ । निर्वाचित भएको पद मनोनित भएको पद र नियुक्ति भएको पद चाहिँ राष्ट्रपति भएपछि स्वत: जान्छ । निर्वाचित भनेको सांसद वा संसदको सदस्य जितेको पद, कुनै जनप्रतिनिधि वडाध्यक्ष नै जितेको भए पनि राष्ट्रपति बनेपछि त्यो पद स्वत: जान्छ । सरकारले मनोनित गरेको पद पनि राष्ट्रपति बनेपछि स्वत: जान्छ । यसबाहेकको कुनै व्यवस्था छैन ।’

कानूनी व्यवस्था नै नभएको कुरा लोकतन्त्रमा लोकतान्त्रिक मूल्य मान्यता मानेको पार्टीले गर्न नमिल्ने उनको भनाइ छ । ‘कि त यस्ता विषय संविधानले रोक्नुपर्थ्यो कुनै कानुनले रोक्नुपर्थ्यो त्यो भएको छैन । त्यसैले लोकतान्त्रिक व्यवस्था विरोधी कुनै काम कुनै लोकतान्त्रिक पद्धति अपनाएको पार्टीले गर्न मिल्दैन,’ उपाध्यक्ष पाण्डेले भने ।

समाचार वर्गहरू