काठमाडौं – नेकपा (एमाले) ले रुपन्देही ३ मा हुने उपनिर्वाचनमा खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने भएको छ। पार्टीले भट्टराईलाई उम्मेदवार बनाउने भएको एमाले नेता अब्दुस मियाँले जानकारी दिए ।
पछिल्लो संसदीय निर्वाचनमा रुपन्देही ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहरा निर्वाचित बनेका थिए। २०८१ चैत १९ गते सांसद बोहराको निधन भएपछि उक्त क्षेत्र रिक्त छ। रिक्त उक्त स्थानमा एमालेबाट भट्टराई उम्मेदवार बन्ने भएका हुन्।
भट्टराई पार्टीको केन्द्रीय विपद् व्यवस्थापन विभाग प्रमुख हुन्। राष्ट्रिय सभाका पूर्वसदस्यसमेत रहेका उनी पार्टीको पोलिटब्यूरो सदस्य हुन्। भट्टराईसहित त्यहाँ दधिराम न्यौपाने, भरत पोखरेल, हरि अधिकारीलगायतका नेताहरू आकाङ्क्षी थिए तर, पार्टीले भने भट्टराईलाई टिकट दिएको हो।
अरु पार्टीले भने उक्त क्षेत्रमा अहिलेसम्म उम्मेदवारको टुङ्गो लगाएका छैनन् ।