लामिछानेले धरानमा सञ्चालन गरेको बराह ग्रुपले डुबायो सर्वसाधारणको १४ अर्ब

34

काठमाडौं – धरानबाट उदाएको बराह ग्रुप अफ कम्पनी मार्फत खुलेका सहकारी र कम्पनीमा सर्वसाधारणको १४ अर्ब हाराहारीको रकम डुबेको छ । शिव लामिछाने सहित उनको परिवारले सञ्चालन गरेको दुइवटा सहकारी र अन्य कम्पनीमा सर्वसाधारणको १४ अर्ब हाराहारी रकम डुबेको हो ।

लामिछाने परिवारका सदस्यले धरानमा सञ्चालन गरेको बराह बचत तथा ऋण सहकारी संस्थामा मात्रै सर्वसाधारणको ६८ करोडभन्दा बढी रकम दुरुपयोग भएको छ । लामिछानेनै अध्यक्ष रहेको काठमाडौंको अभिमत बचत तथा ऋण सहकारी संस्था पनि संकटमा छ ।

बराह बचत तथा ऋण सहकारी संस्थाका पीडित प्रदीप बास्तोलाका अनुसार बराह ग्रुप अफ कम्पनीमा देशभरि सर्वसाधारणको १४ अर्ब हाराहारी रकम डुबेको छ । धरानका सर्वसाधारणको मात्रै ९ अर्ब हाराहारी डुबेको उनको दाबी छ ।

बराह ग्रुपमार्फत लामिछाने परिवारले देशभरि २८ कम्पनी सञ्चालन गरेको उनको दाबी छ । सर्वसाधारणबाट संकलन भएको बचत पनि सोही कम्पनी मार्फत लगानी गरेको थियो ।

बराह ग्रुप मातहत रहेको बराह ज्वेलरी प्रालिमा २७ करोड २८ लाख ४९ हजार, बराह फेमिली किचेनमा ३ करोड ४ लाख २७ हजार, बराह डिपार्टमेन्ट स्टोरमा ८७ लाख ९६ हजार १ सय ८८, बराह भेडेटार मल्टिपर्पोज प्रालिमा ४ करोड ८६ लाख ८९ हजार, बराह कृषि उपज तथा पशुपालन प्रालिमा ४ करोड ६८ लाख ३ हजार ३ सय ८२, बराह भेडेटार मल्टिपर्पोज प्रालिमा थप २८ लाख २५ हजार २ सय ३८ रुपैयाँ लगानी भएको देखिन्छ ।

प्रदेश सहकारी रजिस्ट्रार तथा तथा प्रशिक्षण कार्यालय प्रमुख हरि खत्रीका अनुसार बराह बचत तथा ऋण सहकारीमा जम्मा भएको ६८ करोड अपचलन भएको छ । तर, ज्वेलरी र बराह ग्रुपमार्फत १४ अर्ब रकम अपचलन भएको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय सनुसरीले बराह बचत तथा ऋण सहकारी संस्थाको ठगी अनुसन्धान गरिरहेको छ । सुनसरी प्रहरी प्रवक्ता रामप्रसाद तिम्सिनाका अनुसार ३ सय ३३ पीडितले बचत फिर्ताको मागसहित प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।यो संख्या बढ्ने उनले बताए ।

सर्वसाधारणको उजुरी लिएको प्रहरीले सहकारी ठगी प्रकरण अनुसन्धानका लागि सहकारी अध्यक्ष मानबहादुर विश्वकर्मालाई खोजिरहेको छ । केही दिनअघि घरमा उनलाई नभेटेपछि उनकी पत्नी संगीता विकलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा सञ्चालक समिति सदस्य विष्णु ताम्राकार, सहकारीका लेखापाल अपना श्रेष्ठ, ऋण उपसमिति सदस्य अस्मिता भण्डारी, लेखा सुपरीवेक्षण समिति संयोजक सुदिन ल्वागुन, सञ्चालक सदस्यहरू शेरबहादुर महत क्षेत्री, सरिता कालिकोटे, रवि पोर्तेल लगायत छन् । प्रहरीले सहकारीको कागजात पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

समाचार वर्गहरू