काठमाडौं – सिरहाको लहान नगरपालिकाका वडाध्यक्षहरूले उपमेयर रामचलितर महतोको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
सरकारबाट उपलब्ध अनुदानको रासायनिक मल वितरणमा उपप्रमुखले विवाद निम्त्याउन खोजेपछि वडाध्यक्षहरूले कार्यकक्षमै ताला लगाइदिएका हुन् ।
नगर कार्यपालिकाको निर्णय बमोजिम प्रमुख प्रशासकीय अधिकृत र कृषि शाखा प्रमुखले तयार गरेको कागजात उपमेयर महतोले च्यातेपछि वडाध्यक्षहरूले उनको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
पछिल्लो नगर कार्यपालिका बैठकबाट अनुदानको रासायनिक मल वितरणमा नगर प्रमुख र उपप्रमुखको छुट्टै कोटा निर्धारण खारेज गर्ने निर्णय भएको लहान–२४ का वडाध्यक्ष रासलाल रायले जानकारी दिए ।
नगर कार्यपालिकाको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत र स्थानीय तह मल वितरण व्यवस्थापनसमितिका सदस्य सचिव कृषि शाखा प्रमुखले आवश्यक कागजात तयार गरी अनुदानको रासायनिक मल बिक्रेताहरूका लागि परिमाण तोकेर सिफारिस गर्ने तयारी गरिरहेका बेला पुगेका उपमेयरले कागजात च्यातेको उनले बताए ।
यसलगत्तै वडाध्यक्षहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उपमेयरले पटकपटक आफ्नो कोटा तोकेरै मलखाद वितरणको सिफारिस गर्न दबाब दिएको र प्रमुख प्रशासकीय अधिकृतले नमानेपछि गाली बेइज्जती गर्नुका साथै कार्यकक्षमा तालाबन्दी गरेको वडाध्यक्षहरूको दाबी छ ।
उपमेयर महतोले हरेक लटमा आफ्नो कोटाबवापत डेढ सय बोरा मल छुट्याउन दबाब दिँदै आए पनि समितिका अन्य सदस्यले नमानेपछि बखेडा झिकेको एक वडाध्यक्षले बताए । वडाध्यक्षहरूको संयुक्त विज्ञप्तिमा वार्ता र संवादबाट समस्या समाधान नभएसम्म तालाबन्दी नखोलिने उल्लेख छ ।