विद्याकाे राजनीतिक यात्रा कति ठिक ? – मञ्जु नेपाल भण्डारी

414

नेपालकाे प्रथम महिला राष्ट्रपति भएर २ कार्यकाल व्यतीत गरेकी एउटी महिलाले आफ्नो पुर्व पार्टीमा फर्किने विषयले राजनीतिक बहस चलिरहेको छ । यसले एमाले मात्रै हाेइन सबै दल र कार्यकर्ताले चासोका साथ हेरिरहेका छन् । यस विषयमा केही नलेखिरहन मन मानेन ।

१) २०५० सालमा तत्कालीन पार्टी महासचिव जननेता मदन भण्डारीको मृत्युु पछि एकाएक राजनीतिमा उदाएकि विद्या भण्डारी काठमाडौंकाे उपनिर्वाचनमा विजय भइन् र संसद छिरिन् ।

२) मदन भण्डारीको याेगदानकाे टेका लगाउँदै त्यसपछिका निर्वाचन जित्दै २ पटक मन्त्री पनि भइन् ।

३) २०७२ मा नयाँ संविधान जारी भएपछि नेपालकाे दाेश्राे तथा प्रथम महिला राष्ट्रपति निर्वाचित भएर राष्ट्रकाे सबैभन्दा माथिल्लो ओहदामा पुगिन् विद्या भण्डारी । त्यसपछि २०७४ मा पुननिर्वाचित भइ दाेश्राे कार्यकाल पनि राष्ट्रपति भएर राजनीतिक उचाइ अझै बढाउन सफल भइन् । एकजना महिला देशको गरिमामय स्थानमा पुग्दा मलाई पनि गर्व लागेको छ । खुशी छु अनि उहाँलाई सम्मान व्यक्त गर्छु ।

४) माथि उल्लेखित सबै सफलता उनलेे आफ्नै मेहनत मात्रैले सफल भएकाे पक्कै हाेइनन् । उहाँको हरेक सफलताको पछाडि एमाले अध्यक्ष केपी ओलीको साथ सहयोग समर्थन र सद्भाव मात्रै हाेइन पुर्ण रुपमा उहाँको याेगदान रहेको कुरा जगजाहेर छ । अझ भन्ने नै हाे भने केपी ओली पार्टी अध्यक्ष नभएको भए उनी राष्ट्रपति हुने कल्पनामै सिमित हुन्थ्यो ।

५) अहिले आएर उनै विद्या भण्डारीले पुर्व पार्टीका नेताहरू जसले आफुलाई त्यो गरिमामय पदमा पुर्याउन सहयोग मात्रै हाेइन काँध नै हाले, उनै नेताहरूसँग सल्लाह नै नगरी आफ्नो पुर्व राष्ट्रपतीय गरिमा बिर्सिएर उनै नेताका विरुद्ध वक्तव्यबाजि गर्ने, पार्टी विभाजन गुञ्जायस सहित वैकल्पिक नेतृत्वको रुपमा प्रस्तुत गर्नु राजनीतिक बेइमानी नै हाे । जसकाे काँधमा चढेर हाइट बढाएको छ उसैको टाउकोमा फाेहर गर्ने मनसाय कदापि राम्रो हाेइन ।

६) उनी आउँदैमा न देशले कुनै ठूलो उपलब्धि हासिल गर्न सक्छ न पार्टीले । न युवाले राेजगारी पाउँछन् न उद्योग कलकारखाना खुल्छ । मात्रै उनको व्यक्तिगत महत्वकांक्षा र पद लाेलुपता बाहेक अरु हाेइन भन्ने मलाई लाग्छ ।

७) उनी विछट्टै क्षमता भएको व्यक्ति पनि हाेइन, विगतमा उल्लेखनीय काम गरेकोे व्यक्ति पनि हाेइन । फगत श्रीमानकाे नाममा राजनीति गरेर माथि पुगेको एक महिला मात्रै हुन् । न उनलेे पटकपटक मन्त्री हुँदा कुनै उल्लेख्य काम गरिन् न राष्ट्रपति हुँदा राष्ट्रका लागि कुनै विशेष याेगदान गरिन् । मात्रै ओलीको रबर स्टाम्प भइन् । न अब उनलेे पार्टीको नेतृत्व गर्न सक्छिन् न उनलेे कुनै जादु गरेर देशलाई समस्या मुक्त गराउलिन् ।

८) उनकाे पार्टी सदस्यता नविकरणकाे विषयमा पार्टीको केन्द्रीय कमिटीले समेत निर्णय गरेर राजनीतिमा नआउनु भनिसकेको अवस्थामा उनलेे आफ्नो निर्णय सच्याउनु नै बुद्धिमानी हुन्छ । मेरो विश्लेषणमा उनि राजनीतिमा आउने विषय एउटा स्टन्टबाजि मात्रै हाे । ओली इतरका समुहलाई अल्मलाउने युक्ति मात्रै हाे । एमालेको संस्थापन इतरमा अर्को नेतृत्व तयार हुन नदिने खेल मात्रै हाे ।

त्यसकारण याे विषयले जति चर्चा बटुलेकाे छ त्योभन्दा बढि यसभित्रकाे रहस्य बुझ्नु जरुरी छ । विद्या भण्डारी मात्रै हाेइन जाेसुकै व्यक्ति राष्ट्रपति भइसकेर पुनः पार्टी प्रवेश गर्नु उपयुुक्त छैन । पदीय गरिमा विपरीत छ । देश र जनताको हितमा छैन ।

प्रथम राष्ट्रपति रामबरण यादवले पार्टीमा फर्किने कुरा कहिल्यै गर्नुभएन । वर्तमान राष्ट्रपति रामचन्द्र पाैडेल पनि फेरि पार्टीमा फर्किनुहुन्छ भन्ने लाग्दैन । तर विद्याले मात्रै पार्टी राजनीतिमा सकृय हुने तयारी किन गरिन् भन्ने विषय रहस्यमय छ । संसारमा यस्तो घटना सायदै हुने गर्छ, रुसी राष्ट्रपति भ्लादमिर पुटिन एक उदाहरण हुन् जाे पालैपालो राष्ट्रपति र प्रधानमन्त्री हुने गर्छन् । तर नेपालकाे सन्दर्भमा याे उपयुुक्त छैन । नेपालकाे संविधानले पनि यस्तो परिकल्पना गरेकोे छैन । (लेखिका नेपाल महिला संघको केन्द्रीय सदस्य हुन्)

समाचार वर्गहरू