काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले सदस्यता नवीकरण नै नभएको खुलासा गरेका छन् । कसैले उचालेका भरमा पूर्वराष्ट्रपतिले राजनीतिमा आउनु नहुनेसमेत उनले बताए ।
आजको पाेलिटब्यूराे बैठकमा बोल्दै ओलीले पार्टीका विरुद्ध ठूलो संगठित हमला भइरहेबेला पार्टी भित्रबाट पनि हमला सुरु भएको र यो रोकनुपर्ने उनको भनाइ थियो । ओलीले भने, ‘पार्टीभित्रको अराजकतालाई रोक्नुपर्छ, नभए पार्टीले रोक्छ ।’
पूर्वराष्ट्रपति सकृय राजनीतिमा आउने कुरा पत्रिकाबाट थाहा भएको दाबी गर्दै उनले भण्डारीको पार्टी सदस्यता नविकरण नभएको र यसको निर्णय कमिटीले गर्ने बताए ।
“राष्ट्रपति भइसकेपछि पार्टीमा लामो समय सदस्यता रिक्त भयो । ग्याप भएपछि नयाँ सदस्यता लिने हो । कसरी नवीकरण हुन्छ ?,” ओलीको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, “एक त उहाँको सदस्यता नवीकरण भएको छैन । त्यसमाथि उहाँ राष्ट्रपति भइसकेको व्यक्ति ।”
ओलीले भण्डारी पूर्वराष्ट्रपति हुनाले एमाले अध्यक्ष बन्नेगरी सक्रिय हुन नहुने धारणा राखेको ती सदस्यले जानकारी दिए ।
‘उहाँलाई दुईपटक पार्टीले राष्ट्रपतिमा पठाएको हो, अहिलेको संवैधानिक ब्यवस्थाअनुसार फर्किनुहुन्न भनेर जिम्मेवारी दिइएको हो’, उनले भने, ‘उचालेका आधारमा उहाँ सकृय राजनीतिमा आउनु हुँदैन । उहाँप्रतिको विश्वासको कुरा हुन्छ । पार्टीको सदस्यता नविकरण भएको छैन । सदस्यताको निर्णय कमिटीले गर्छ । बिधिसम्मत छलफल गरेर निर्णय गर्ने हो । यो मेरो ब्यक्तिगत धारणा हो’, ओलीले भने ।