विद्या भण्डारी राजनीतिमा फर्किए ‘इथिकल’ गल्ती हुनेछ – महेश बस्नेत

94

काठमाडौं – नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा फर्किए इथिकल र प्रक्रियागत गल्ती हुने बताएका छन्।

आफूले बैठकमा राखेका विषयहरु सामाजिक सञ्जाल मार्फत सार्वजनिक पनि गरेका छन्। ‘जुन कुरा लोकतन्त्र र आन्तरिक जनवाद दुवैसँग मेल खाँदैन। पार्टीको दायित्व छनौट चाहनाले मात्र होइन,विधि सम्मत प्रक्रियाले हुन्छ,’ बस्नेतले भनेका छन्।

भण्डारीको सदस्यता नवीकरण वा नयाँ लिनुपर्ने अवस्थामा पनि लहड होइन केन्द्रीय कमिटीबाट निर्णय गर्नुपर्ने उनले उल्लेख गरेका छन्।

नेता बस्नेतले महाधिवेशनले पास गरेको विधानभन्दा अर्को विधान छापेर पार्टी र नेतालाई जालझेल र षडयन्त्रको आरोप नलगाउन चेतावनी दिँदै उनले विद्या भण्डारीलाई वैकल्पि नेता बनाउने नाममा गुट बनाएर पार्टी कमजोर बनाउने खेल बन्द गर्न आग्रह गरेका छन्।

यस्ता छन् बस्नेतका प्रस्तावहरू :

समसामयिकक विषयमा

१. विद्या कमरेड राष्ट्रपतिसम्मको गरिमा र जिम्मेवारी लिनु भएको व्यक्ति हो। सक्रिय पार्टी पंक्तिमा फर्केर त्यो मर्यादा मेट्ने इथिकल र प्रक्रियागत गल्ति गर्नु हुन्न। जुन कुरा लोकतन्त्र र अन्तरिक जनवाद दुवैसँग मेल खाँदैन। पार्टीको पदीय दायीत्व छनोट चाहनाले मात्र होइन, विधिसम्मत प्रक्रियाले हुन्छ।

२. ️ उहाँको सदस्यता नवीकरण गर्दा पूर्वराष्ट्रपतिको हैसियत के हुन्छ? नयाँ सदस्यता लिने प्रक्रिया उहाँलाई आवश्यक छ कि छैन यति गम्भीर विषय लहडमा होइन, केन्द्रीय कमिटीको निर्णयले मात्र गर्नु पर्द्छ।

३. ️ ७० वर्ष उमेर मापदण्ड हिजो हामीले नै बनाएको हो, बीचमै आवश्यकताले हटायौँ, अब त्यसको औचित्य देखिएन। अवकाश स्वचालित होइन , क्षमता र स्वेच्छाले हुने बिषय हो, ‘मकुन्द न्यौपाने’ जस्तो पार्टी प्रवेश गर्दा पद लिन हटाउँ भन्ने पद पाएपछि चाहिँदैन भन्ने दोधारे परिस्थिति नहोस्।

४. ️ २ कार्यकालको सीमा महाधिवेशनले हटाएको हो।अर्को विधान छापेर पार्टी र नेतालाई जालझेल र षड्यन्त्रको आरोप नलगाऔँ। क्षमता र योग्यताका आधारमा नेता छान्ने संस्कृति बनाऔँ। अब हटाउने प्रस्ताव सचिवालयले ल्याएको छ, पास गरौँ।

५. ️ विद्या भण्डारीलाई वैकल्पिक नेता बनाउने नाममा गुट बनाएर पार्टी कमजोर बनाउने खेल बन्द गरौँ।

६. ️सचिवालयमा बहुमत छ भनि मिडियाबाजी गरेर … लाई अध्यक्ष बनाउने गरी निर्णय गराउँछौँ भन्ने। आफू अनुकुल निर्णय नभएपछि अण्ट सण्ट बोल्ने काम बन्द गरौँ। सचिवालयले विधान संसोधन प्रस्ताव ल्याएको छ पोलिटब्युरोले परिमार्जन गरेर सर्वसम्मत पास गरौँ।

७. कहिले आफ्नो बरिष्ठ पद हट्दा टुलुटुलु हेरेर बसे भन्ने र कहिले केपी ओलीलाई औँला ठड्याएर चुनौती दिए भनेर मिडियामा नाम आएका ७० काटेका नेताहरूलाई खुला रूपमा उम्मेदवार बन्न हौसला दिने प्रस्ताव सचिबालयबाट आएको छ। त्यस्तो आग्रह नराखी उहाँहरुलाई नै प्रतिष्पर्धा गर्ने वातावरण बनाउने फराकिलो निर्णय गर्ने हिम्मत गर्न केपी ओलीजस्तै विशाल छाती चाहिन्छ।

८. अहिले प्रचण्ड, शेखर र विद्या भण्डारी मिलेर सत्ता समीकरण खोज्दै छन् भनेर अ्मरेस सिंह ले भन्ने। चीन भ्रमणदेखि नारायणकाजी, शेखर कोइरालासँग विद्या कमरेडको भेटघाट र ‘सहयोग माग’ वाम एकताको नाममा फेरि एमाले कमजोर पार्ने चालमा कम्युनिस्ट विरोधी तत्व सल्बलिएका छन्, घुस्न दिनु हुन्न। अन्तिम निर्णय हाम्रो पार्टीको संगठन भित्रैबाट मात्रै हुन्छ।

९. एमालेभित्र नेतृत्वको र पार्टीको पक्षमा उभिँदा असक्षम बनाउने र खुइलाउने रोग बढेको छ। जतिसुकै असक्षमको ट्याग लागे पनि परिभाषित काममा आफ्नो क्षमता प्रदशन गरौँला। हाल अध्यक्षको विकल्प तयार नभएकोले आउँदो कार्यकाल पनि केपी ओलीकै नेतृत्वमा नेकपा एमाले अघि बढ्नुपर्ने प्रस्ताव गर्दछु।

विधानसित सम्बन्धित सुझाव

१. स्थायी कमिटीको संख्या २५ पुर्‍याउने।

२. ️उपत्यका विशेष कमिटी गठन गर्ने।

३. ️प्रवासमा युवा, विद्यार्थी, मजदुर र महिला कमिटीहरू विस्तार गर्ने।

४.तीव्र बसाइँसराइ भएका जिल्लामा सक्रिय सम्पर्क कमिटीहरू गठन गर्ने।

समाचार वर्गहरू