काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपटबहादुर रावलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र भीम रावलको कारबाही फिर्ता गर्न आग्रह गरेका छन् ।
पार्टीको दोस्रो दिनको केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले पार्टी नेतृत्वले उदार भाव प्रकट गरी बलियो शक्ति बनाउन कारबाही गरेकालाई फिर्ता बाेलाउनुपर्ने धारणा राखेका हुन् ।
उनले जेन–जी आन्दोलनमा सबै नेता-कार्यकर्ताहरू लुकेर बसेको समेत बताएका छन् । ‘हामी सबै भागेर लुकेकाहरूको भेला हो यो । यथार्थपरक बनौँ,’ उनले बैठकमा भने ‘अझै घनघोर षड्यन्त्र र आक्रमण हुने सम्भावना टरेको छैन ।’
उनले कांग्रेससँग सहकार्य गरेर सरकार गठन गर्दा १४ महिनासम्म सातबुँदे सम्झौता कार्यान्वयन नभएको स्मरण गर्दै जेन–जी आन्दोलनको अघि र पछिको शक्ति सन्तुलनमा व्यापक फेरबदल भएको विचार राखेका छन् ।