श्रम, मन्त्री गोकर्ण विष्ट यूएइ प्रस्थान 

16

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट आज बिहान यूएइ प्रस्थान गरेका छन् । अक्टोबर १६ र १७ तारिख (बुधवार र बिहीबार) यूएइमा हुन लागेको पाँचौ मन्त्री स्तरीय आबुधाबी डायलगमा सहभागी हुन तीन सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री विष्ट त्यसतर्फ प्रस्थान गरेका हुन् ।

टोलीमा मन्त्रालयका सचिव विनोद केसी र सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख उमेश ढुंगाना छन् । श्रमिक पठाउने र लिने देशहरुको साझा फोरम हो अबुधाबी डायलग । यसपटकको छलफल श्रमिक आपूर्ति प्रक्रियालाई थप पारदर्शी बनाउने विषयमा केन्द्रित हुनेछ ।

त्यस्तै अवैध कामदारको आयात र निर्यातको रोकथाम, श्रमिकको हक हित र सामाजिक सुरक्षाका विषयमा पनि डायलगमा छलफल हुनेछ । श्रमिक पठाउने मुलुकहरुको साझा फोरम कोलम्वो प्रोसेसको अध्यक्ष राष्ट्र भएकाले नेपालको उपस्थिति खास रहनेछ ।

डायलगमा श्रमिक पठाउने देशहरु नेपाल सहित भारत, पाकिस्तान, श्रीलंका, म्यानमार, थाइल्याण्ड, फिलिपिन्स, वंगलादेश र भियतनाम सहभागी हुँदैछन । त्यस्तै श्रमिक लिने देशहरु यूएइ, मलेसिया, कतार, कुवेत, साउदी अरब, बहराइन, यमन सहभागी हुनेछन् ।

समाचार वर्गहरू