संसदीय गतिविधि र सार्वजनिक पहुँचलाई सरल एवं पारदर्शी बनाउन आफू प्रतिबद्ध छु : सभामुख अर्याल

40

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले संसदीय गतिविधि र सार्वजनिक पहुँचलाई सरल एवं पारदर्शी बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा आयोजित पत्रकारहरूसँगको अन्तर्क्रियामा बोल्दै उनले आफू सहजै पहुँच (एक्सेस)  दिने व्यक्ति भएको उल्लेख गर्दै विगतका कतिपय पुराना नजिरहरूलाई छाडेर समाजको आवश्यकताका आधारमा नयाँ नजिर स्थापित गर्ने बताए ।

अन्तर्क्रियाका क्रममा पत्रकारहरूले उठाएका प्रश्नको जवाफ दिँदै सभामुख अर्यालले संसदमा देखिएका समस्याहरूलाई कहाँ र कसरी समाधान गर्न सकिन्छ भन्नेमा आफ्नो गम्भीर ध्यान गएको बताए। हालको संसद कक्ष साँघुरो भएका कारण केही व्यवस्थापकीय कठिनाइ देखिएको स्वीकार गर्दै उनले भने, ‘अहिलेको संसद् भवन नभएकाले संसद कक्ष साँघुरो छ, त्यसैले केही समस्या भएको हो ।

बैठक कक्षको उचित व्यवस्थापन भएपछि यी सबै कुरा सुध्रिनेछन् ।’ सभामुख अर्यालले नागरिक र सञ्चारकर्मीका लागि संसद्‌लाई खुला र मैत्रीपूर्ण बनाउने योजना सुनाए । पत्रकारहरूले सिंहदरबारको गेटमा भोग्नुपरिरहेको प्रवेश समस्याका बारेमा उनले सुरक्षा निकायसँग समन्वय गरेर समाधान खोज्ने आश्वासन दिए ।

गेटबाट पत्रकार छिर्न नदिएको विषय सुरक्षा दृष्टिकोणले हेरिने भए पनि आफूले सम्बन्धित पक्षलाई बोलाएर छलफल गरी यसमा सुधार ल्याउने उनले बताए । साथै, संसदीय समिति र संसद् बैठकमा पत्रकारहरूको प्रवेशलाई अझ सहज र व्यवस्थित बनाउन आफूले सचिवालयसँग तत्काल छलफल अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

समाचार वर्गहरू