संसद र संविधानभित्रबाटै समाधान खोज्न मोर्चाको अपील

50

काठमाडौं – संघीय लोकतान्त्रिक मोर्चाले हालै जेन जेड युवा पुस्ताले सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित गरेको आन्दोलनमा सरकारले अपनाएको दमनकारी नीतिप्रति आपत्ति जनाएको छ।

मोर्चाले मंगलबार जारी विज्ञप्तिमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सत्ता र शक्तिको दम्भ देखाउँदै आन्दोलनरत युवामाथि गोली प्रहार गरी युवाहरूको हत्या गरेको र हजारौंलाई घाइते बनाएको आरोप लगाएको छ। विज्ञप्तिमा भनिएको छ, “सरकारको हिंसात्मक कार्यले मुलुकमा ठूलो धन–जनको क्षति भएको छ। मोर्चा यसको घोर विरोध, भर्त्सना र निन्दा गर्दछ।”

वर्तमान अस्थिर राजनीतिक अवस्थाबारे मोर्चाले भनेको छ, “शान्ति, सुरक्षा, सामाजिक सद्भाव र कानून व्यवस्था कायम गरी मुलुकमा अमन–चैन स्थापना गर्न अत्यावश्यक छ।” मोर्चाले ओली नेतृत्वको सरकार “पहिले नै पतन भइसकेको” भन्दै युवा पुस्ताका माग सम्बोधन हुने गरी लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रिय पहिचान विपरीत नहुने गरी नयाँ सरकार गठनको माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “संविधानअनुसार नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित छ। त्यसका प्रतिकूल हुने कुनै पनि कार्य मोर्चालाई स्वीकार्य हुने छैन।”

समाचार वर्गहरू