सपना प्रधानले गरिन् प्रधानन्यायाधीशको शपथ बहिष्कार

57

काठमाडौं – कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ समारोह बहिष्कार गरेकी छन् ।

शीतलनिवासमा मंगलबार राष्ट्रपति रामचन्द्र पाैडेलले नवनियुक्त प्रधानन्यायाधीश शर्मालाई पद तथा गोपनीयताको शपथ दिलाएका थिए ।

तर उक्त शपथ समारोहमा कामु प्रधानन्यायाधीश मल्ल अनुपस्थित भएकी हुन् । शपथ समारोहमा सर्वोच्चका अरु न्यायाधीशहरू सहभागी थिए । शीतलनिवासमा शपथपछि प्रधानन्यायाधीश शर्मा पदबहालीका लागि सर्वोच्च अदालत पुगेका थिए ।

शर्माको पदबहालीमा पनि सर्वोच्चका पाँच जना न्यायाधीश मात्रै सहभागी भएका थिए । शपथ समारोहमा शीतलनिवास पुगेका अधिकांश न्यायाधीशहरू पदभार ग्रहणमा अनुपस्थित भएका हुन् ।

सर्वोच्च अदालतमा शर्मालाई सर्वोच्चका पाँच न्यायाधीशका साथै काठमाडाैं, ललितपुर र भक्तपुर जिल्ला अदालतका केही न्यायाधीशहरूले पुष्पगुच्छाका साथ स्वागत गरेका थिए ।

समाचार वर्गहरू