काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको गठबन्धन २०८४ को चुनावसम्म जारी रहने बताएका छन् ।
झापाको कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार नढल्ने दाबी गर्दै आफू अझै एक वर्ष प्रधानमन्त्री हुने जिकिर गरेका हुन् ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति झापाले गरेको कार्यक्रममा सो पालिकाका २०० जनालाई जग्गाधनी पुर्जा वितरण गर्दै प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा पाउनु खुसीको कुरा भएको उल्लेख गरे ।
‘यो सरकार ढल्छ ढल्छ भनेर कराउनेहरु कराऊन् । सरकारको एक वर्ष बित्यो । अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु । त्यसपछि हाम्रो सहमतिबमोजिम नेपाली कांग्रेसका सभापति एवं मेरो लामो लोकतान्त्रिक आन्दोलनका सहयात्री शेरबहादुर देउवालाई हस्तान्तरण गरिनेछ’, प्रधानमन्त्री ओलीले भने, ‘चुनावसम्म यो यात्रा जारी रहन्छ । म साथीहरूलाई ढुक्कले अघि बढ्न आग्रह गर्छु ।’
एमाले अध्यक्ष ओलीले देश विकासको गतिमा अग्रसर भएकोले निराशा र कुनै हल्लाको पछि लाग्नु नपर्ने बताउँदै शिक्षा र स्वास्थ्य आदिका क्षेत्रमा ठूलो परिवर्तन भएको जनताले अनुभव गरेको स्पष्ट गरे ।