काठमाडौं – नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सपाकोटाले केही दलहरू चुनावबाट भाग्न खोजिरहेको र सरकार पनि मिति तोकेपनि निर्वाचन नगर्ने बाटोतिर लागेको आरोप लगाएका छन् ।
बिहीबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै सापकोटाले वर्तमान सरकारले जेनजीको मर्मभन्दा फरक ‘काम–कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ जस्तै भएकोसमेत सापकोटाले बताए ।
४३ औँ ‘विश्व खाद्य दिवस’ तथा ‘विश्व भोक दिवस’ को अवसरमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले आयोजना गरेको कार्यक्रममा पूर्व सभामुखसमेत रहेका सापकोटाले आफ्नो पार्टी फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने र अरू सबै दलहरू पनि सहभागी हुनुपर्ने धारणा राख्दै भने, ‘हामी तयार छौँ, अरू कुनै पनि दल त्यसबाट भाग्न पाइँदैन र वर्तमान सरकारले पनि निर्वाचनको वातावरण बनाउने कुरामा ध्यान दिनुपर्छ ।’
उनले वर्तमान अन्तरिम सरकारको मुख्य जिम्मेवारी भनेको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नु र अहिले त्यसको लागि तयारी गर्नु भएको बताए ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठले ४३ औँ विश्व खाद्य दिवसभन्दा पनि विश्व भोक दिवसका रुपमा मनाएको जनाएका छन् ।
महासंघका महासचिव नेहन्द्र खड्काले बालेन साहले किसानलाई ‘फोहोर’ शब्द प्रयोग गरेर होच्याएकोले तत्काल माफी माग्नुपर्ने धारणा राखे ।
अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष प्रकाश श्रेष्ठले बालेन्द्र शाह हरेक पटक अँध्यारा कोठामा बसेर जनताविरुद्धमा षड्यन्त्र नगर्न र किसानहरूलाई अपमान नगर्न चेतावनी दिए ।