सामान्य मान्छे के सोच्दैछन अहिले ?

60

सुशीला शर्मा

आजकल नेपाल भन्ने देशको माहौल एकदमै विग्रिएको छ । एकातिर कोभिड महामारीले जनताका जीवनस्तर आर्थिक रुपमा चौपट छन् । कोही संक्रमणको कारण अस्पताल तथा आईसोलेसनमा छन् । कोही यही बीचमा पनि होडबाजीका साथ कमाउन पनि लागेकै छन् । कतिपयको कोभिडकै कारण मृत्यु पनि भईसकेको छ । लकडाउन खुलेको हुनाले अब कामकाजी मानिसहरु कोरोना सोरोना केही होईन भन्दै काम धन्दामा लागिरहेका छन् । अधिकाँस सर्वसाधारणको मन एकतमासको जिजिविषाले विथोलिएको छ ।

यो अहिले भईरहेको संसद भङ्ग लगायतका वादविवादहरु लोकतन्त्र र संसदवादको चलन नै हो भनेर पनि भनिरहेछन् । यो एउटा जोखिमपूर्ण तर रोमाञ्चकारी खेल जस्तो पनि लाग्ला । तर भूँईतहदेखिका सर्वसाधारण र कर्मठ अनि ईमान्दार,पसिनाको कमाईमा खुसी हुने वर्गलाई यो भद्रगोलले झन अन्यौल सिर्जना गरेको छ । द्धन्द,प्रतिक्रिया पक्ष विपक्ष त चलेर नै कुनै पनि मुद्धाको निक्र्यौल हुने कुरा त मानिआएकै हो । तर अब भने यस्तै झिझो कहिलेसम्म भन्ने प्रश्न खडा भएको छ ।

यहाँ उखु किसानका कुरा छाँयामा गए । अन्य महिला, दलित,जनजाती,मँधेश लगायत भूँई मान्छेका परिआएका मुद्धाहरु पनि कता हो कता । सिमान्त नागरिकका अधिकारका कुराहरु त केवल नारामा मात्र सिमित रहे । २०६२÷०६३को आन्दोलनले यी उल्लेखित सिमान्त र पिछडिएका वर्गलाई पनि समेट्ने उद्घोष गरेको थियो । त्यसै अनुरुपको संविधानमा धाराहरुको व्यवस्था पनि भएकै हो । संविधान निर्माणताका जनआन्दोलनको मर्मलाई मर्न नदिन धेरै सभासदहरुले व्यापक छलफल गरेका कुरा संविधानसभाकी एक पूर्व महिला सभासद बताउँछिन् । उनका अनुसार संविधानमा भूँई तहदेखिका एजेन्डालाई सम्बोधन गर्ने सन्दर्भमा पनि कुनै पक्षको सहजै स्वीकारोक्ती हुन्थ्यो भने कुनै पक्षलाई भने उनीहरुभित्रको जडता र अहम् छोड्न साहृै अप्ठेरो पथ्र्यो । तर यी वितेका १५ वर्षले परिवर्तनले ल्याएका उपलब्धीहरुलाई कार्यान्वयन गर्नुको साटो शासक अनि नेताहरुको राजनैतिक खिचातानीको अभ्यासमै दिन कटिईरहेछ ।

यहाँ आक्षेप, पटाक्षेप, आरोप प्रत्यारोपमा सबै नेताहरु उत्रेका छन् । कम्युनिष्ट हुँ भन्नेहरु समाजवादमा काम गर्छौ भन्नेहरुले एक लट त आफ्नो “महान”काम देखाईसकेकै हुन् । उनीहरुका अकाम देखेर जनताहरु नैराश्यका शिकार पनि भईसकेकै हुन ।

राजनीतिक गतिविधिमा कतै कही संलग्नै नभएका,साक्षात्कार र भनेको सुनेको भरमा मतदान गर्न जाने पनि त छौ यहाँ । यही तप्कालाई हाम्रो देशको राजनैतिक लुछाचुँडी र छिनाझपटीले गर्दा ओहो राजनीति त यस्तो फोहोरी खेल पो रहेछ भन्ने बनाईदिएको छ । नेतृत्वकर्ताहरु ढोगी,आडम्बरी, पदलोलुप, पैसामा विक्ने रुपमा चित्रित हुँदैछन् । नेपाली जनताले परिवर्तनको खातिर विभिन्न क्रान्तीमा बलिदानी गरेर आजको दिनसम्म संघीय गणतन्त्र नेपाल स्थापना त भयो तर अब द्धन्दका क्रान्ती भन्दा पनि समाजका निम्नवर्गीय मानिसहरुका आम समस्या लगायत विकासका मुद्धाहरुमा बहस र कार्यक्रम तथा कार्यान्वयन हुन सकेन् । एकत्रित हुनुपर्ने बेलामा हाम्रा नेताहरुको,शासकहरुको काम चाँहि यही लोकतन्त्रको अभ्यास गर्दै एक जुग जाने भयो जस्तो छ । कित्ता कित्ता रुमल्लिईरहेका छन । कुन कित्ता सफा,प्रष्ट र समाजको हितमा छ भन्ने कुरा एकादेशको कथा झैं हुन लागिसक्यो ।

एकजना भारतीय मित्रसंग सामाजिक सञ्जालमा हेलो हाई गर्ने क्रममा कोभिडसंगसंगै राजनीतिक दाउपेचहरु पनि चलि नै रहेको बारेमा कुरा हुँदा उनले हामी सबैले अहिलेको सन्दर्भमा मनन गर्नुपर्ने कुरा भनेर हिन्दीमा लेखिएको एक अनुच्छेद पठाए । जुन लेखाई केही आध्यात्मिक हो कि झैं पनि लाग्न सक्छ तर पनि अहिलेको समाजलाई कही न कही छोएको भान हुन्छ । यसलाई मैले नेपालीमा भावार्थ यसरी उल्लेख गरेको छु ।

बर्तमान समाज एकदमै हल्का मानिसहरुको हातमा छ । हल्का यस मानेमा कि कुण्ठाग्रस्त,संवेदनाशून्य, अस्पष्ट,अन्धभक्ति,मूर्ख,क्रोधित यस्तै भनेर पनि बुझ्न सकिने रहेछ । अधिकाँस हल्का व्यक्ति राष्ट्राधक्ष्य बनिरहेछन् । हल्का व्यक्ति धर्माधिकारी बनेकाछन् । हल्का व्यक्तिहरु मिडियामा छन र पत्रकार छन् । हल्का जनमानस, अनि नेतृत्व । जहाँतही हल्कापनको बोलबाला छ । विश्वमै दूरदर्शी, विश्वसनीय तथा ठोस व्यक्तित्व नहुनु पनि यो युगको सबैभन्दा त्रासदीपूर्ण अवस्था हो । विश्व अभूतपूर्व संकटबाट गुज्रिरहेको छ । जुन अमेजन जंगलमा लागेको आगो होस या पृथ्वीमा बढिरहेको तापक्रम। हतियारका प्रतिष्पर्धा होस या मानव बेचविखन । बाल पोर्नोग्राफी होस या लागु औषधमा धूत भएका यूवा । विश्व दृष्टि कसैसंग छैन् । तत्कालिन आनन्द यो समयमा जीवनको मन्त्र बनिरहेछ ।

चाहे त्यो राष्ट्र होस,संस्था होस या व्यक्ति । प्रत्येक आँखा यस्तरी झुकेको छ कि दोश्रो व्यक्ति देख्न मुश्किल छ । झन किरा,फट्याङ्गग्रा तथा पर्यावरणसगं सम्बन्ध बन्न त टाढाको कुरा ।

सुन्दर अनुहारहरु अगाडिबाट नै हिडिरहेका हुन्छन तर ती सुन्दर अनुहारमा गहिराई देखिदैनन् । जिमखानाबाट तन्दुरुस्त बनाइएका शरीर देखिन्छन तर व्यक्तित्वको चहक देखिदैन् । अग्लो उचाई देखिन्छ तर अनुहारमा उच्चता देखिदैन् । किलो किलोको शरीरमा एक छटाक पनि बुद्धि भरिएको पाईदैन् । चौडा छातीमा क्लेश पनि चेतना छैन् । सुगठित शरीरमा सुक्ष्म चित्त छ । व्यक्तित्वको कमी, यो गुगको सबभन्दा ठूलो समस्या भएको छ । र यसको प्रमुख कारण हो व्यक्तिको ईन्द्रीय सुखभोगबादलाई बढावा दिनु । भोगवृत्तिले व्यक्ति स्वयंभन्दा अगाडि देख्न सक्दैन् । व्यक्तिले हरेक चिजको दोहन गर्न चाहन्छ । जसमा प्रकृति पनि पर्छ र मानिस पनि पर्छन् ।

यसरी भोगवृतिकै कारण व्यक्तिका घर अनि राष्ट्र नै पनि विशाल हुन पुग्छ तर “मन”संकुचित हुन्छ । वुद्धि त बढ्दै जान्छ तर भाव हराउँदैजान्छ । धनको कोष त भरिन्छ तर चेतना खाली हुँदै जान्छ । शरीर त बन्छ तर व्यक्तित्व बन्न पाउँदैन् ।
जुन हातहरुले पहिले तरवार चलाउँथे ती हातहरु कम्प्युटर चलाउन थालेका छन् । पढाईलेखाईले जीविकोपार्जनका तौर तरिका त सिकाउँदैछ तर व्यक्तित्वको गहिराईसम्म भेट्न सकेको देखिदैन् ।

गहिराई त गहिराईमा डुबेपछि मात्र भेटिन्छ । आफैंभित्र डुबेपछि मात्र समस्त अरुको बारेमा जान्न बुझ्न सकिन्छ । आफूले आफैंलाई भित्रबाट बुझेपछि अरुका पीडाको पनि अनुभव गर्न सकिन्छ । तबमात्र अहिंसा र सबैको कल्याणको दीयो बाल्न सम्भव हुनेछ । तर धेरैभन्दा धेरै मानिसहरु शरीरमै अडिएर बसेभने विश्व नै स्थूल चेतनाले भरिनेछ । यस्तै व्यक्तिवादी चेतना नै युग चेतना बनिरहेछ । अनि राष्ट्राध्यक्षको दम्भ,धर्माधिकारीका हठ,कर्मचारीहरुको अहम्,अपराधीको क्रुरता र मिडियाको मनमानी बनेर प्रस्तुत भईरहेछ । यो युगको त्रासदी यो छ कि मानिसहरु शरीरमै अडिएका छन् ।

हामीले कद काँठी,रंग,रुप धन वैभवलाई नै व्यक्तित्वको मापन बनाईराखेका छौं । यो भन्दा बढी दुःखको कुरा के हुन सक्छ र ? एक प्रतिभाशाली,कलाले निपुण बालक पनि अर्को औषत बालकको अगाडि आफूलाई यस कारणले कमजोर ठान्छ कि रंग,रुप तथा कद काँठमा उ म भन्दा ठूलो छ । अनि केही आश्चर्य मान्नु पर्दैन कि विश्वभरमा जिम,कस्मेटिक,पार्लर लगायतका कारोबारहरु दिन दुईगुना रात चौगुना फैलिईरहेछन् ।

यो एक चेत हराउने समय हो । शरीरवाद र भोगवादको यो फैलावटले हामीलाई कु्रर, प्रतिष्पर्धी र कठोर बनाईरहेको छ । यसले हाम्रो चेतनालाई सबैतिरबाट क्षीण बनाईरहेछ । यसले व्यक्तित्व विकासका अन्य आयामसम्म पुग्न दिईराखेको छैन् ।

समाजमा हुने जघन्य अपराधको कारण पनि यही हो कि अपराधीलाई सिर्फ आफ्नो सुखसंग सरोकार छ र अर्कोको दुःखपीडासंग उनीहरुलाई केही लिनुदिनु नै छैन् ।
यही स्थितिले त आगामी वर्षहरुमा मानवको खोल ओढेका पशुहरुमात्रै चारैतिर चरिरहेका देखिनेछ । पशू यस मानेमा कि विवेक लडाएर एकअर्कासंग मानवीय व्यवहार गर्न छोड्नेछन् ।

यी उल्लेखित भनाईले पक्कै पनि समाजको प्रतिनिधित्व नै गरिहालेको भन्न त नमिले पनि घटना,दुर्घटनाहरु भने यस्तै नै छन् । समाज चरम व्यक्तिवादीपनबाट गुज्रिरहेको छ ।

हाम्रा नेताहरुले देखेका सपना र त्याग पक्कै यस्ता स्वार्थी थिएनन होला । तर पनि जनतालाई चयन हुने खालको व्यवस्था आईकन पनि साँच्चै जनताले पाएको राहत भने उही कागजी दस्तावेजमा मात्रै सिमित हुन पुगेको छ । अहिले राज्य सञ्चालन गर्नेहरुले आफ्ना समूहकै बीच नमिलेको मतका कारण आफ्नो भिटो प्रयोग गरेर बहुमत प्राप्त सरकारले ३ वर्षमै सरकार सञ्चालनका प्रक्रिया नै भंग गरेर एक आपसमा बाझाबाझ गरेर बसिरहेछन् । जनता,नागरिक समाज सडकमा ओर्लन वाध्य छन् । अझै पनि आश गर्दै छौं कि ती दिग्गज र जनताकै खातिर भनेर लडेर नेतृत्वमा पुगेका प्रमुखहरुले आफ्ना सुपर ईगो र हठ भुलेर फेरि सहयात्रा गर्नेछन् । सामान्य मानिसलाई चाहिएको त गरिखान पाउने वातावरण हो । भिन्न परिवेशको भए पनि स्वः पहिचान र मानव अधिकार सुनिश्चित भएको समाज हो । अनि आफैंले चुनेर पठाएका नेतावर्गले समाज प्रति गरेको सकारात्मक कामप्रति घमण्ड गर्न पाउनु हो । जुन आदर्शबाट आफूलाई अघि बढाए त्यसलाई पूर्णरुपमा पालन गर्दै जनतासंगसंगै हातेमालो गरेर हिड्ने नेता पो आजको समयको माग हो । असल र खराब एकै ठाउँमा मुछिएर गञ्जागोल भएकाहरुमध्येबाट असल मनिएकाहरुले आफ्नो अवधारणा सहित अगाडि आएमा जनताले अझै साथ दिनेछन् ।

समाचार वर्गहरू