काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिंहदरबार योजनाबद्ध रूपमा जलाएको दाबी गरेका छन्।
मंगलबार गुण्डुस्थित निवासमा भेट्न पुगेका कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले सिंहदरबार जलाउने योजनामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) संलग्न भएको आशय व्यक्त गरेका हुन्।
जेन–जी आन्दोलनपछि पहिलो पटक कार्यकर्तामाझ भिडिओमा देखिएका ओलीको सम्बोधन एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले फेसबुकमा राखेका छन्।
‘यो देश हाम्रो हो, हामीले बनाउने हो भन्ने भावना राख्नुपर्दछ। अहिले अरूको उच्चालाईमा गएर कसले जलायो? थाहा छैन। सिंहदरबार जलाइयो,’ ओलीले भनेका छन्, ‘कसले जलायो? देशलाई माया गर्ने मान्छेले, इतिहासलाई माया गर्ने मान्छेले, सिंहदरबार जलायो होला र? पक्कै जलाएन।’
अरू नै कुनै घुस पैठिया तत्त्वहरूले नै सिंहदरबार जलाएको उनले बताएका छन्। ‘जो पहिलेदेखि नै भन्दै थिए, सिंहदरबार जलाउँछु,’ ओलीले अगाडि भनेका छन्। उनको यो अभिव्यक्ति सिधै बालेन लक्षित छ। बालेनले नै कुनै समय ‘सिंहदरबार जलाउने’ अभिव्यक्ति फेसबुकमा पोस्ट्याएका थिए। त्यही अभिव्यक्तिका कारण अहिले उनी आलोचित पनि छन्।
यस्तै संसद् भवन जलाउन धेरै पटक हमला भएको पनि ओलीले दाबी गरेका छन्। ‘अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र(हाल संसद् भवन) तिर हमला गरेको थोरै पल्ट त भएन, धेरै पल्ट भइसक्यो। अथवा यो एउटा उनीहरूको योजनाबद्ध काम हो। यस्तो कुरा हामीले बुझ्नुपर्दछ,’ ओलीले भनेका छन्।
अहिले बादल लाग्यो भन्दैमा बादल हट्दैन भन्ने नभएको उनले बताए। ‘फेरि बादल लाग्यो भन्दैमा हट्दैन भन्ने छैन, साँझ प¥यो भन्दैमा भोलि बिहान उज्यालो हुन्छ भन्ने कुरा विश्वास गर्नुपर्छ। उज्यालो हुन्छ,’ ओलीले भने। नागरिकन्युज