काठमाडौं – सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका- ५ तौथली बजारमा शुक्रबार दही छ्याप्दै ‘तौथली दही जात्रा’ मनाइएको छ ।
जिल्लाको पुरानो र ऐतिहासिक नगरी मानिने तौथली भेगभर जिल्लाभरबाट आएका वृद्धवृद्धादेखि युवासम्मले ठेकी र बाल्टीबाट अबिर मिसिएको दही निकाल्दै एकअर्कालाई छ्यापाछ्याप गरेर जात्रा मनाएका हुन् ।
भूकम्पपछि पुरातत्त्व विभागको तीन करोड ६५ लाखमा चिटिक्क पुरानै संरचनामा पुनर्निर्माण गरिएको त्रिपुरासुन्दरी माईको मन्दिरअगाडि जात्रा मनाइएको स्थानिय कुमार श्रेष्ठ बताउँछन् ।
श्रेष्ठका अनुसार ‘जय जय ओम महादेवी ’ भनेर चिच्याउँदै (तान्त्रिक र मान्त्रिक पूजाविधिसहित ल्याइएका) ६ वटा परम्परागत लिंगोमा पूजा, सगुन खुवाएपछि बजारबीचबाट दहीको होली सुरु हुने गर्छ । ‘मुलुकमै यस्तो अनौठो दही छ्याप्ने परम्परा र अनेकौं प्राचीन पूजा, अनुष्ठान र जात्रा कहीँ छैन, यस्तो प्राचीन इतिहास बोकेको तौथलीमा मात्रै छ ,’उनले भने ।
दिउँसोबाट सुरु भएको दही छ्याप्ने जात्रा अबेरमा सकेपछि महादेवीलाई जगाउन लिंगो नचाउँदै तरबार, खुँडा, खुकुरी देखाएर नृत्य निकालिएको थियो ।
‘महाकाली भगवती (ललिता त्रिपुरासुन्दरी)ले महिषासुरको वध गरेको खुसीयालीमा किराँतकालदेखि हालसम्म यहाँ दही जात्रा हुँदै आएको छ,’ तौथलीका वडाध्यक्ष यादव श्रेष्ठले भने । गुठियार, स्थानीयले गाई, भैंसी नथाकोस् र पशुपालन, व्यवसाय सप्रिँदै जाने कामनामा यसरी दही ल्याएर चढाउने गर्दै आएको उनको भनाइ छ ।
दही जात्राको संरक्षणका लागि गाउँपालिकाले एक लाख बजेट उपलब्ध गराएको छ ।
यो मन्दिरमा दशैंको फूलापतीको दिन मन्दिरकै मान्यताअनुसार त्रिपुराकै धुस्कुनकापहरी समुदायले तीन वटा माछा चढाउँछन्। महाअष्टमीको दिनकालो रंगको बोकाको मात्रै बली दिइन्छ। दशमीको रात यहाँ वर्षमा एकपटक मात्रै देखिने दुर्लभ भैरव, कुमारी,चण्डी, स्यालकहनजस्तानृत्य जात्रा हुन्छ।