काठमाडौं । सिन्धु विकास बैंकको १४ औं र १५ औं बार्षिक साधारण सभामा विवादसंगै भएको कुटाकुटको घटनाबाट साधारण सभा स्थगित भयो । संचालकहरु बीचको आन्तरिक विवादको कारण बैंकको बार्षिक साधारणसभा स्थगित भएदेखि रोपीएको विवादको विउको असर बैंकमा राम्रोसंग परेको देखिन्छ । साधारण सभामा भएको हात हालाहालपछि विभिन्न चरणमा विवाद मिलाउने प्रयास गरिएको भएपनि अझै नमिल्दा बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ) समेत नियुक्त गर्न सकेको छैन ।
गत वर्ष २०८१ फागुन २८ गते मिराबल रिसोर्ट एण्ड होटल, धुलिखेल काभ्रेपलाञ्चोकमा राखिएको साधारण सभा संचालनका लागि चाहिने ५१ प्रतिशत प्रोक्सी नपुगेपछि स्थगित भएको बैंकले जनाएर विवादको विषय लुकाएपनि अहिले सो विवाद भुसको आगो झै भित्रभित्रै सल्किदै गएको बताइएको छ । तत्कालिन समयमा संचालकहरुबीच आन्तरिक विवाद बढेपछि केही संचालकहरुले प्रोक्सी नै नदिएपछि कोरम पुग्न सकेन ।
बलजबस्ती साधारणसभा गरे नियामन निकायहरुमा उजुरी दिने धम्की व्यवस्थापनलाई केही सञ्चालकहरुले दिएपछि तत्कालिन बार्षिक साधारणसभा स्थगित गर्न बैंक पुगेको थियो । पछिल्लो समय संंचालक समितिका सदस्यहरुबीच विवाद बढेपछि बैंक दिनप्रति दिन धरासायी बन्दै गएको बैंकका शेयरधनीहरुको गुनासो रहेको छ । बैंकबाट बचतकर्ताले बचत रकम समेत झिकेको बताइएको छ । बैंकको आर्थिक सुशासनमाथि यतिबेला नेपाल राष्ट्र बैंकले प्रश्न समेत उठाइरहेको छ ।
बैंकका संचालकहरुको आन्तरिक विवादले नाजुक अवस्थामा पुगेपछि बैंकले मर्जरको लागि पार्टनर खोजेको भएपनि त्यो समेत नपाएको बताइएको छ । यसैबीच, गत पुस ९ गते सुरेश देवकोटाले सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिएपछि अहिलेसम्म सो पदमा नयाँ सिइओ नियुक्त गर्न बैंक व्यवस्थापक असफल भएको छ । देवकोटाले दिएको राजीनामा गत माघ १ गतेदेखि लागु हुनेगरि स्वीकृत भई सकेको छ ।
भने गत पुस १८ गते सीईओका लागि आवेदन आह्वान समेत बैंकले गरेको थियो । सिइओको आबेदन गरेको पाँच महिना बितिसक्दा समेत बैंकले नयाँ सीईओ नियुक्त गर्न नसक्नुले बैंकको व्यवस्थापन भित्र ठूलो विवाद रहेको प्रष्ट देखिएको शेयरधनीहरुको बुझाई रहेको छ । पहिलो पटकको प्रयासमा सीईओ नपाएपछि बैंकले गत चैत १६ गते पुनः सीईओका लागि आवेदन आह्वान गरेको थियो । ‘सीईओका लागि आवेदन दिने समय समेत अहिले सकिएको छ ।
आबेदन दिने समय सकिएपछि पनि अहिलेसम्म सो पदकालागि आबेदन परेको तर उपयुक्तको खोजीमा रहेको बैंक स्रोतले जनाएको छ । सिइओको नियुक्ती सञ्चालक समितिले केही दिनमा बैंकले सीईओ नियुक्ती हुने बताइएको छ । बैंकका सञ्चालकहरूले आगामी सीईओ कसलाई ल्याउने भन्ने विषयमा आन्तरिक छलफल समेत नगरिएको बताइएको छ ।