सीमा क्षेत्रमा सुरक्षा चौकी थप्छौं : गृहमन्त्री थापा

17

(काठमाडौं) – गृहमन्त्री रामबहादुर थापाले नेपाली भू–भाग जोगाउन सीमा क्षेत्रमा सुरक्षा चौकी थप्न लागेको बताएका छन् ।

सिंहदरबारमा बुधबार सीमा बचाऊ अभियानको ज्ञापनपत्र बुझ्दै उनले ‘सीमा सुरक्षा निगरानी चौकी’ बढाउन लागेको बताएका हुन् । ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले १०–१० किलोमिटरको अन्तरमा ‘सीमा सुरक्षा निगरानी चौकी’ बढाउन लागेको बताएका हुन् ।

सीमा बचाऊ अभियानले सीमामा चौकी र सुरक्षाकर्मी थप्नुपर्ने, सरकारी कार्यालयबाट विवादित नक्सा हटाएर नयाँ नक्सा राख्नुपर्ने, लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका क्षेत्रमा भारतले अतिक्रमण गरेको भूमि फिर्ता गर्न कूटनीतिक पहल गर्नुपर्ने माग गरेको छ ।

यस्तै, अभियानले सुगौली सन्धि अनुसारको नेपालको वास्तविक नक्सा बनाउनुपर्ने, विज्ञ टोली गठन गर्नुपर्ने, प्रधानमन्त्री तहबाटै वार्ताको पहल सुरु गर्नुपर्ने लगायत सुझाव दिएको छ ।

अभियानका संयोजक वरिष्ठ पत्रकार भैरव रिसाल, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वमन्त्री शान्ता मानवी, पूर्व सांसद श्याम श्रेष्ठ, पूर्व सचिव द्वारिकानाथ ढुंगेल, नेता सोनम साथी, पूर्व राजदूत हिरण्यलाल श्रेष्ठ, प्रा डा. नरेन्द्रराज खनाल लगायत गृह मन्त्रालय पुगेका थिए ।

समाचार वर्गहरू