काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आजसम्म सूचीकृत हुन नआएका सामाजिक सञ्जाल निष्क्रिय हुने बताएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै मन्त्री गुरुङले सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको बताए।
नेपाल सरकारले जारी गरेको सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्न बनेको निर्देशिका–२०८० बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्नो प्लेटफर्मको सूचीकरणका लागि सोही निर्देशिकाका अनुसूची १ बमोजिमको ढाचाँमा तोकिएको कागजातहरु संलग्न गरी ७ दिनभित्र निवेदन दिन भनेको थियो।
मन्त्रालयले निवेदन दिँदा इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी, स्वनियम परिपालनको निगरानी अधिकारीसमेत तोक्ने सार्वजनिक सूचना प्रकाशन गरिएको थियो।
मन्त्री गुरुङले भने, ‘तोकिएको समयभित्र सूचीकृत गर्न नआउने सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेको क्षणदेखि पुनः सक्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको छ।’
मन्त्री गुरुङले करिब २५ वटा सामाजिक सञ्जाल सूचीकृत हुन आउनुपर्ने र सूचीकृत गर्नका लागि कुनै पनि खर्च नलाग्ने बताए। ‘सात दिनभित्र दर्ता गर्न आउनु भनेका थियौँ, त्यो मिति आजसम्म थियो, आजकै मितिदेखि सामाजिक सञ्जाल निष्क्रिय गराउँछौँ,’ मन्त्री गुरुङले भने, ‘मुलुकमा कर तिरेको छ कि छैन भनेर सूचीकृत गर्न खोजेको होइन, सामाजिक सञ्जालका कारण भएको अपराधीकरण, सामाजिक सांस्कृतिक क्षेत्रमा खलल पार्ने खालको काम गरेको छ, पैसा तिर्ने कुरा आएको छैन।’