काठमाडौं – बागमती प्रदेशका प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. गंगादत्त नेपालले अब स्थानीय तहमा खानेपानी व्यवस्थापन बोर्ड स्थापना गरिनुपर्ने बताएका छन् ।
२१ वैशाखमा हेटौंडामा खानेपानी, सरसफाई तथा स्वच्छता सुशासन सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै अब स्थानीय सरकारले पालिकाभित्र खानेपानी व्यवस्थापन बोर्ड स्थापना गरी खानेपानी तथा सरसफाइको काम गरिनुपर्ने बताए ।
उपभोक्ता समिति त छदैँछ अब नीति तथा कार्यक्रममा समेट्दै बोर्ड स्थापना गर्न उनले आग्रह गरे । मकवानपुरमा १० स्थानीय तहमध्ये हेटौंडा र थाहा नगरपालिकामा मात्र खानेपानी व्यवस्थापन बोर्ड गठन भएका छन् ।
खानेपानी र सफाइको क्षेत्रमा काम गरि दीगो विकास हासिल गर्न अग्रसर रहनुपर्ने गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश अध्यक्ष कर्णबहादुर थापामगरले बताए । अन्य विकासको कार्य संगसंगै खानेपानी, सरसफाई तथा स्वच्छतामा पनि न्यायोचित ढङ्गले काम गर्नुपर्छ, उनले भने ।
बागमती प्रदेश भित्र ७४ वटा गाउँपालिका रहेको छ, महासंघले खानेपानी सरसफाईको क्षेत्रमा समेत नीतिगत सहयोग र स्रोतको परिचालनमा आवश्यक पैरवी गर्दै आइरहेको छ, अध्यक्ष थापामगरले भने ।
भौगोलिक विकटता सँगै चेपाङ र तामाङ समूदायको बाहुल्यता रहेको मकवानपुरका राक्सिराङ र कैलाशमा नागरिकहरुमा व्यवहार परिवर्तन ल्याउन सके सुरक्षित खानेपानी र सरसफाई क्षेत्रमा परिवर्तन ल्याउन सकिने कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताए ।