काठमाडौं – परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणबारे उठेका भ्रामक र आधारहीन सामग्रीलाई विश्वास नगर्न आग्रह गरेको छ।
स्पेनको सेभियामा आयोजित ‘विकासका लागि वित्त’ चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलका विषयमा देखिएका भ्रामक तथा तथ्यहीन सामग्रीप्रति ध्यानाकर्षण भएको भन्दै परराष्ट्र मन्त्रालयलाई त्यस्ता विषयलाई विश्वास नगर्न आग्रह गरेको हो।
परराष्ट्रले प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल ३० जुनदेखि ४ जुलाईसम्म चलेको सम्मेलनमा सहभागी भएको र प्रतिनिधिमण्डलका सम्पूर्ण सदस्यहरू स्वदेश फर्किएको जनाएको छ।
भ्रामक र आधारहीन सामग्रीमा विश्वास नगर्न र यस्ता गलत प्रचारप्रति सजग रहन परराष्ट्र मन्त्रालयले सबैलाई अनुरोध गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएका केही व्यक्ति स्वदेश नफर्किएको आरोप लगाएकी थिइन्।