काठमाडौं – आइबार प्रतिनिधि सभा बैठक कोरम नपुगेर स्थगित भएको छ । २१६ जना सांसदले हाजिर गरेकोमा गणपुरक संख्या (कोरम) यकिन गर्दा भने जम्मा ६८ जना मात्रै उपस्थित थिए ।
संसद् सचिवालय स्रोतका अनुसार १ सय ४८ जना सांसद आइतबार हाजिर गरेर हिँडेपछी प्रतिनिधिसभाको आइतबारको कार्यसूची नै प्रभावित भएको छ ।
गृहमन्त्री रमेश लेखकले नागरिकता ऐन संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्ने कार्यसूची थियो । तर, कोरम नपुगेका कारण यो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन ।
संविधानको धारा ९४ अनुसार कुनै पनि प्रस्ताव सभामा प्रस्तुत हुन एक चौथाइ सांसद उपस्थित हुनुपर्छ । जसमा २७५ सदस्यीय सभामा एक चौथाइ सांसद पुग्न ६९ सांसद चाहिन्छ ।
सभामुख घिमिरेले नागरिकता ऐन संशोधन विधेयकमाथिज विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लागेपछि राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा)की सांसद निशा डाँगीले गणपुरक संख्या यकिन गर्न माग गरेपछी तीन मिनेट घण्टी बजाएर सांसद संख्या गन्दा ६८ जना सांसद मात्रै उपस्थित थिए ।
२७५ सदस्यीय प्रतिनिधि सभामा कोरमका लागि कम्तीमा ६९ सांसद चाहिनेमा ६८ जना मात्रै उपस्थित रहेको सुनाउँदै सभामुख घिमिरेले बैठक स्थगित गरिदिए । अर्को बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।