३ ठाउँको पहिरोले बीपी राजमार्ग रातिदेखि नै अवरुद्ध, कुनै अप्ठ्यारो परे फोन गर्नुस

92

काठमाडौं – काभ्रेका तीन ठाउँमा पहिरो खस्दा बीपी राजमार्ग रातिदेखि नै अवरुद्ध छ।

रातिदेखि नै पहिरो पन्छाएर सडक खुलाउने प्रयास भए पनि सफल हुन नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मिनबहादुर घलेले जानकारी दिए।

रोसी गाउँपालिका- ११ स्थित माम्ती खोला, रोसी- ९ कै पिन्थली र बिरुवाडाँडामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

‘तीनै ठाउँमा रातिदेखि नै जेसीभीको सहायतामा पहिरो हटाउने प्रयास जारी छ,’ घलेले मंगलबार बिहान नेपालखबरसँग भने, ‘तर, अझै पहिरो हटाएर यातायात सुचारु गर्न सकिएको छैन। सबै पहिरो हटाउन अझै ३/४ घण्टा लाग्छ होला।’

उनले कुनै अप्ठ्यारो परेमा जिल्ला प्रहरी कार्यालय काभ्रेमा सम्पर्क गर्न पनि यात्रुहरुलाई अनुरोध गरेका छन्। त्यसका लागि मोवाइल नम्बरहरु  ९८५१२८४३७६, ९८५११२३८०५ ,९८५१२८५४०० र ९८५१२३७३३९ मा सम्पर्क गर्न पनि उनले सबैलाई अनुरोध गरेका छन्।

बीपी राजमार्गअन्तर्गत रोशीका विभिन्न स्थानमा आइतबार साँझदेखि नै खोलामा आएको वर्षासँगै लेदो झरेपछि सडक अवरुद्ध भएको थियो। रातभर जेसिभी प्रयोग गरी लेदो हटाएर सोमबार बिहान दुइतर्फी नै यातायात सञ्चालनमा ल्याइएको थियो। पिन्थली खण्डमा पनि यसअघि असार १६, २५ र २६ गते सडक पटकपटक अवरुद्ध भएको थियो।

समाचार वर्गहरू