८४ दिनको हिरासत बसाइपछि रिहा भए लामिछाने

22
फाइल फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एंव पूर्वगृहमन्त्री रवि लामिछाने रिहा भएका छन् । जिल्ला अदालत कास्कीको आदेशपछि लामिछाने कास्की प्रहरीको हिरासतबाट मुक्त भएका हुन् ।

बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा लामिछानेबाट ६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो ।

लामिछानेलाई अन्य जिल्ला अदालतमा दर्ता भएका मुद्दाको प्रक्रियाका लागि स्वयं उपस्थित हुने सर्तमा कास्की अदालतले रिहा गर्न आदेश दिएको हो ।

अदालतले तोकेको उक्त धरौटी बुझाएर लामिछाने बिहीबार साँझ रिहा भएको रास्वपा नेता सोविता गौतमले जानकारी दिइन् । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिनको हिरासत बसाइपछि रिहा भएका हुन् ।

बिहीबार अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो । उनीसँगै उक्त मुद्दाका छ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका छन् ।

सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको थियो । अदालतको आदेश अनुसार रवि लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी लिएको छ भने छविलाल जोशीसँग ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ । यस्तैगरी लिला पछाईंसँग ३७ लाख रुपैयाँ, रामबहादुर खनालसँग १५ लाख रुपैयाँ धरौटी माग गरिएको छ।

समाचार वर्गहरू