अतिक्रमित नेपाली भूमि फिर्ता लिएरै छोड्छौं : प्रधानमन्त्री ओली

27

(काठमाडौं) – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट अतिक्रमित कालापनी, लिपुलेक र लिम्पियाधुरा फिर्ता लिएरै छोड्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो विषयमा ओझेलमा पर्न नदिने भन्दै यो भूमि फिर्ता लिएर छोड्ने बताए । कूटनीतिक वार्ताको माध्यमबाट यो भूमि फिर्ता ल्याइने उनले बताए ।

नेपालको भूमि मिचिएको विषयमा उठेका प्रश्नको जवाफ दिँदै उनले दुई ठूला देशको बीचमा रहेको मुलुकले तथाकथित राष्ट्रवाद वा लम्पसारवादको बाटो समाउन नहुने बताए । प्रधानमन्त्री ओलीले मुलुकको सिमाना राणा शासनको समाप्ति लगत्तै देखि मिचिएको उल्लेख गरे ।

कूटनीतिक माध्यमबाट वार्ता गरेर उक्त भूमि फिर्ता ल्याउने प्रधानमन्त्रीको भनाइ थियो । ठोस रूपमा कूटनीतिक प्रयास गर्ने उनको भनाइ थियो । नीति तथा कार्यक्रममा प्रस्तुत गरे झै यसलाई फिर्ता गर्न ठोस रुपमा प्रयास गर्ने सदनलाई जानकारी गराए ।

उनले भने, ‘यो कुनै चलाखी हिसाबाले वा राष्ट्रवाद देखाउने हिसाबले हैन । तमासा गरिएको हैन, देखावटी गरिएको हैन । यो यथार्थमा गरिएको हो ।’ उनले आफ्नो भूमि फिर्ता ल्याउने कुरा कुनै चलाखी र तथाकथित राष्ट्रवाद नभएको पनि बताए ।

सरकारले सोमबार मात्रै मिचिएको भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालको नक्सामा समावेश गर्ने निर्णय गरिसकेको छ । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले केही दिनभित्र नै मुलुकको नयाँ नक्सा सार्वजनिक हुने संसद्लाई जानकारी गराए ।

समाचार वर्गहरू