काठमाडौं । रास्वपा बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता खारेज भएको छ । केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले स्वर्णकारलाई पत्र पठाएर साधारण सदस्यता खारेज गरिएको जानकारी दिएका हुन् ।
अनुशासन आयोगमा बाराबाट निर्वाचित ४ जना सांसदहरुले स्वर्णकारविरुद्ध उजुरी दिएका थिए । आर्थिक अनियमिता, पार्टी संगठन परिचालन नगरेको, विपक्षी दलका उम्मेदवारको पक्षमा लागेको लगायत आरोप उनीमाथि लागेको थियो । त्यसैले उनलाई कारबाही गरिएकाले रास्वपाले जनाएको छ ।
रास्वपा नेताहरुका अनुसार बारा जिल्ला समिति भंग गरेर नयाँ समिति बनाउन केन्द्रबाट प्रतिनिधि खटाइसकिएको छ ।
यसैबिच पार्टीबाट निस्कासित भएका स्वर्णकारले भने आफ्नो ‘राजनीतिक हत्या’ भएको टिप्पणी गरेका छन् ।
आफूमाथि भएको कारबाहीको व्यहोराको पत्र सार्वजनिक गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘मेरो राजनीतिक हत्या भयो, अब फैसला महागढीमाई र बाराका जनताको हातमा । आदरणीय आम जनसमुदाय, षड्यन्त्रको पराकाष्ठा कस्तो हुन्छ भन्ने कुराको अन्तिम प्रमाण यही पत्र हो ।’
उनले आफूमाथिको कारबाहीलाई ‘अन्यायपूर्ण’ भनेका छन् । ‘रास्वपाको एउटा प्राविधिक पानाबाट मेरो नाम हटाइएला, तर महागढीमाई र बाराका स्वाभिमानी जनताको मुटुबाट मेरो नाम कसैले हटाउन सक्ने छैन,’ उनले लेखेका छन्, ‘रास्वपाको यो अन्यायपूर्ण निर्णय र जेठ ९ गतेको कथित विस्तारित बैठकलाई बाराका सच्चा कार्यकर्ताहरूले कसरी जवाफ दिनेछन्, त्यो समयले बताउनेछ ।’
राजनीतिक यात्रा नरोकिने बताउँदे उनले थप लेखेका छन्, ‘मेरो राजनीतिक यात्रा रास्वपाको लोगोमा नसकिएको छैन, बरु महागढीमाईको माटो र यहाँका जनताको सेवाका लागि अब स्वतन्त्र रूपमा अझ बलियो भएर अगाडि बढ्नेछ ।’