काठमाडौं : नेपाली कांग्रेसले आफ्ना मान्छे नियुक्ति गरेर संवैधानिक आयोगलाई नियन्त्रणमा राख्ने ढंगबाट सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएको छ।
मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस संसद समन्वय बोर्डको बैठकपछि संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत राज्यका निकायलाई नियन्त्रण गर्ने प्रयास गरिएकाले गम्भीर आपत्ति रहेको बताए।
सरकारले सिफारिस गरेको अध्यादेश जारी भइसकेपछि संसद अधिवेशन आह्वान गर्नुले पनि सरकारको बदनीयत स्पष्ट देखिएको उनले बताए।
उनले सरकारको क्रियाकलापले मुलुकलाई ठीक ठाउँमा लगेको जस्तो अनुभूति नभएको बताए। त्यस्तै आङ्देम्बेले व्यवस्थापनका विषयलाई ख्यालै नगरी सुकुम्बासीको बस्ती भत्काउने काममा समेत कांग्रेसको विरोध रहेको बताए।
अध्यादेश लगायतका विषयमा कांग्रेसले सशक्त रूपमा अन्य विपक्षीहरूलाई समेत साथमा लिएर सदनमा आवाज उठाउने उनले बताए।
कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद समन्वय बोर्डको प्रथम बैठक आज बसेको हो ।