अब उम्मेदवार बन्न पुलिस रिपोर्ट अनिवार्य

10

काठमाडौं – निर्वाचन आयोगले अब उम्मेदवार बन्न प्रहरी रिपोर्ट (चारित्रिक प्रमाणपत्र) अनिवार्य गर्ने कानुनी व्यवस्थाका गर्ने तयारी गरेको छ। निर्वाचन ऐनमा यस्तो व्यवस्था राख्नका लागि मस्यौदा तयार गरिरहेको आयोगले जनाएको छ।

निर्वाचनसम्बन्धी ऐनमा प्रहरी रिपोर्ट अनिवार्य गर्ने व्यवस्था सिफारिस गर्न लागिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। आफु उम्मेदवारका लागि योग्य छु भन्ने कुरा जनाउन अब प्रहरी रिपोर्ट पनि आवश्यक देखियो। यसो भएमा जनताले चुनेका उम्मेदवार पुनः निलम्बन हुने र थुनामा पर्ने अवस्था कम आउँछ।

प्रमुख आयुक्त थपलियाले भने, ‘जनताले चुनेका प्रतिनिधि शपथग्रहण गर्नासाथ निलम्बन हुनु परेको अवस्था छ। हत्या आरोप लागेकाहरू जितेर पनि भाग्नुपर्ने अवस्था देखियो। पेस गरेका नक्कली प्रमाणपत्र (नागरिकता लगायत)का कारण समस्या नै देखियो।’ यस्तै समस्याका कारण अब प्रहरी रिपोर्ट पहिले नै अनिवार्य हुनुपर्ने अवस्था आएको उनी बताउँछन्।

मस्यौदालाई अन्तिम रूप दिएर संसद्मा लैजाने तयारी भइरहेको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ छ। ‘सम्भवतः चैत १५–२० भित्र नयाँ व्यवस्थासहितको निर्वाचनसम्बन्धी ऐनको मस्यौदा पेस गर्छौं,’ उनले भने।

स्थानीय तहको वडा सदस्यदेखि केन्द्रको सांसद बन्नलाई प्रहरी रिपोर्ट अनिवार्यको व्यवस्था ऐनमा राख्न आयोगले सिफारिस गर्न लागेको प्रमुख आयुक्त थपलियाले बताए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू